डोटी बस दुर्घटनामा तीनको मृत्यु

0
Shares

विमल विष्ट, डोटी
पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बुधबार बिहान ६ बजे भएको बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । भारतमा मजदुरी गरी कैलालीको गौरीफन्टा हुँदै अछाम जान लागेका उनीहरु डोटीको पूर्वीचौकी गाउँपालिका–१ मा दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा अछामको चौरपाटी गाउँपालिका–७ मार्कुका ३० वर्षीय टीकाराम विक, मंगलसेन नगरपालिका–७ का ५५ वर्षीया धनी शाही र बान्नीगढजयगढ गाउँपालिका–३ का ६० वर्षीय पदम साउद रहेका छन् । दुर्घनामा परेकामध्ये घाइते १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।
कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णली रिभर यातायातको ना६ख २५२९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभएको छ । बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो । घाइतेहरुको प्रहरी तथा स्थानीयबासीले उद्धार गरेका थिए ।
वर्षाले सडक चिप्लो भएको र चालक पनि निदाएका कारण उक्त बस दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । घाइतेहरु अधिकांशको टाउको र छातीमा बढी चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पताल डोटीका डा. ज्योति पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अधिकांश घाइतेको टाउको र छातीमा बढी चोट छ, १२ जनाको अवस्था गम्भीर भएकाले रेफर गर्ने तयारीमा छौं ।’
सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको हुन सक्ने पूर्वीचौँकी गाउँपालिकाका स्थानीयले बताएका छन् । प्रहरीले बस चालक २६ वर्षीय हेमबहादुर खत्रीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सिट क्षमताभन्दा यात्रु सङख्या बढी देखिएको छ, के कति कारणले दुर्घटना भयो त्यो विषयमा अनुसन्धान गर्नका लागि चालकलाई नियन्त्रणमा लिएका छौं, अनुसन्धानपछि सबै कुरो खुल्ने छ ।’
बस दुर्घटनामा परी घाइते हुनेहरुमा अछामका अञ्जली भण्डारी, मीना भण्डारी, दुर्गा भण्डारी, सुरज बिक, पार्वती जनाला, रोशन पनेरु, सन्तोष पनेरु, खेमराज ओली, गौरी ढुंगाना, राम रावल, प्रकाश थापा, अर्जुन साउद, भरत साउद, धना साउद, खिमा जनाला, कल्धरी कामी रहेका छन् । त्यसै गरी अन्य घायतेहरुमा गीता कामी, मनीष कामी, मनिराज विक, रवि विश्वकर्मा, उमेश जनाला, शिरीष जनाला, रमेश शाही, दीपक शाही, धीरेन्द्र नेपाली, रमेश जनाला, गणेशकुमार साउद, लक्ष्मीदेवी विक तथा रेवन्त साउद रहेका छन् ।