मलेखुदेखि धदिङबेसी क्षेत्रमा निषेधाज्ञा,गल्छी बजार सिल

0
Shares

सीताराम अधिकारी,धादिङ ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी समूदाय स्तरमा जान सक्ने सम्भावनालाई रोकथाम गर्नका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने गल्छी गाउँपालिकाले गल्छी बजार सिल गर्दै पालिका भित्रका राजमार्ग क्षेत्रका पसलहरु बन्द गराएको छ ।

एक होटल संचालक र प्रहरीका एक उच्च अधिकारीलाई कोरोना संक्रमण पुष्टी भएसंगै जिल्ला प्रसासन कार्यालयले साउन २८ गते राती १२ बजेदेखि भदौ ३ गते राती १२ बजे सम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।

कालुपाण्डेमार्गको मलेखु धादिङबसेी खण्ड, निलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४, ७ ८, १२ र १४ का क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको हो ।मानिसहरु हिडडुल गर्न, सबै किसिमको यातायात संचालन गर्न, व्यापार व्यवसाय संचालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ भने अत्यावस्यक काम बाहेक कोही कसैलाई घर बाहिर ननिस्कन समेत जिल्ला प्रशासन कार्यालयले सूचना गरेको छ ।

आज बसेको संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा रहेका एम्बुलेन्सहरुलाई तयारी अवस्थामा राख्ने, स्वाब संकलन गर्ने भिटिएम, व्यक्तिगत सुरक्षा सामाग्री र जनशक्ति संघीय सरकार र प्रदेश सरकारसंग माग गर्ने, संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक टे«सिङ गरि कोभिड १९ परिक्षणका लागि नमूना संकलन गर्ने लगायतका निर्णयहरु गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भएको छ ।

यसैगरि त्रिभूवन राजपथ र पृथ्वीराजमार्ग क्षेत्रका सबै बैँक, वित्तिय संस्था, होटल, शैक्षिक सस्था, बन्द गराउने, र करदाता सेवा कार्यालय गल्छीको सेवा समेत बन्द गरिने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।यसैगरि गल्छी गाउँपालिकाले गल्छी बजारलाई एक साताका लागि बन्द गरेको छ ।

गल्छी गाउँपालिका क्षेत्रका व्यापार व्यवसाय, र सरकारी सेवाहरु समेत एक सातासम्म बन्द गर्न गाउँपालिका अध्यष कृष्णहरी श्रेष्ठको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेको हो ।साउन २९ गतेदेििख लागु हुनेगरि बेल्खुखोलादेखि खोस्टे खोला क्षेत्रको भागका उदोग, व्यवसाय, पसल, होटल, लयागतका सबै सार्वजनिक सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताउनुभएको छ ।

यस क्षेत्रमा व्यक्तिहरुले संचालन गरेका उद्योग, बालुवा प्रसोधन गर्ने फिरफिरे, व्यक्रिहरुले खोला बाट निकालिने बालुवा समेत निकाल्न नपाइने गरि बन्द गरिएको छ । सबै नागरिकहरुलाई अत्यावस्यक काम बाहेक घर बाहिर ननिस्कन निर्देशन गरिएको छ भने घरबाहिर निस्कनै पर्दा मास्क लगाएर मात्र निस्कन सर्वसाधारणलाई आग्रह गरिएको छ ।मास्क नलगाइ घर बाहिर निस्कनेलाई एक सय रुपैयाँ जरिवाना गर्ने सोही बैठकले निर्णय गरेको छ ।