विश्रामस्थलमा जेष्ठ नागरिकको विश्राम

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

बनेपा नगरपालिका वडा नम्वर ७ स्थित परिवार नियोजन संघको भवन अगाडी सार्वजनिक जग्गामा जेष्ठ नागरिक विश्रामस्थल निर्माण शुरु गरिएको छ । बालमैत्री र जेष्ठ नागरिकमैत्री नगर बनाउने योजना अनुरुप वडा कार्यालयले जेष्ठ नागरिक विश्रामस्थल निर्माण गर्न लागेको हो ।

जेष्ठ नागरिकहरुको विश्रामका लागि उक्त स्थान महत्वपूर्ण र उपयुक्त हुने टोलबासीहरुको निश्कर्ष छ । २०७६ चैत्र ४ गते उक्त क्षेत्रमा विश्रामस्थल निर्माण गर्न टोलबासीहरुको भेला बसेको थियो । भेलामा उक्त टोलका २७ जना टोलबासीहरुको सहभागिता रहेको थियो ।

भेलाले विश्रामस्थल निर्माणका लागि परिवार नियोजन संघ सँगै रहेको सार्वजनिक जग्गामा निर्माणका लागि भगवान सागर भैलको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । सचिव तुलसीदास श्रेष्ठ, कोषाध्यक्ष इन्दिरा श्रेष्ठ, सदस्यहरुमा नविन साखः, अजयकुमार श्रेष्ठ, विश्वराज भैल रहनु भएको थियो ।

अनुगमन समितिमा देवेन्द्रप्रसाद भैल संयोजक रहनु भएको छ भने बोधप्रसाद तौजले र लक्ष्मीलाल राजभण्डारी सदस्य रहनु भएको छ ।  विश्रामस्थल निर्माणका लागि वडा कार्यालयले विनियोजन गरेको रकममा स्थानीय टोलबासीहरुले करिव एक लाख रुपैया थप गरेका छन् ।

आर्कषक र अत्यन्तै उपयोगी विश्रामस्थल निर्माणमा संधियार सुरोज मुस्याजु र उनका दाजु भोला मुस्याजुले अवरोध पु¥याउनु भएको उपभोक्ता समितिका अध्यक्षभगवान सागर भैलले बताउनु भयो । ‘सार्वजनिक जग्गा हडपेर लालपुर्जा बनाउने पनि उहाँहरु नै हुनुुहुन्छ’–अध्यक्ष भैलले भन्नुभयो–‘सार्वजनिक जग्गा हडपेर लालपुर्जा तयार गरी नीजि आवास निर्माण गर्न लागेको जानकारी पाए पछि टोलबासीहरु ३० जनाले नक्सा पास रोक्काका लागि वडा कार्यालयमा उजुरी दिएका छौं ।’

‘२०७६ माघ १५ गते स्थानीयहरुले वडा कार्यालयमा उजुरी दर्ता गरेसँगै मुस्याजु दाजुभाईले टोलबासी र वडा अध्यक्ष विरुद्ध गलत प्रचार गरी जग्गा हडप्न खोजेका छन्’–अध्यक्ष भैलले भन्नुभयो–‘वडा कार्यालयले उपलब्ध गराएको ३ लाख ५० हजार, स्थानीयहरुबाट संकलन भएको १ लाख र नपुग रकम नगरपालिकाबाट उपलब्ध गराउने आश्वासन प्राप्त गरेका छौं ।’

६ लाख रुपैया भन्दा धेरै खर्च भईसकेको जेष्ठ नागरिक विश्रामस्थलबाट कसैले अवरोध नभएको र असुविधा नहुने वडा अध्यक्ष वर्ण शाक्यले भन्नुभयो । वडाबासी, टोलबासीहरुको सक्रिय सहभागिताबाट निर्माण भईरहेको उक्त विश्रामस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ ।

बुधबार विहान विश्रामस्थलमा टोलबासीहरुको भेला बसी थप कार्य अगाडी बढाउन सक्रियता बढाउने निर्णय गरेको छ । संधियार सुरोज मुस्याजुले साविक बनेपा नगरपालिका वडा नम्वर ८ हाल बनेपा ७ को कित्ता नम्वर २७३ मा भवन बनाउन नक्सा तयार गरी वडा कार्यालयमा पेश गर्नु भएको थियो ।

४ आना १ पैसा जग्गा उहाँको पुरानो लालपुर्जामा रहेको भए पनि डिजिटल लालपुर्जाबाट उहाँको पूर्जामा ४ आना १ पैसा २ दाम बनाए पछि टोलबासीहरुले त्यसको खारेजीको माग गर्दै मालपोत कार्यालय काभ्रे, डिजिटल नापी नक्सा र नापि कार्यालय र वडा कार्यालयमा उजुरी गरेका हुन् ।

‘जग्गा खारेजी र नक्सा पास रोक्काका लागि हामीले संयुक्त निवेदन दिएका छौं’– अध्यक्ष भैलले भन्नुभयो । विश्रामस्थलका बारेमा सामाजिक सञ्जालमा ब्यक्त विचारहरुको सन्र्दभमा उपभोक्ता समिति र वडा कार्यालयले ध्यानाकर्षण भएको बताउँदै सार्वजनिक जग्गा हडप्न रोक लगाउँदा ब्यत्त अभिब्यक्तिको कुनै अर्थ नभएको जानकारी गराएको छ ।