काठमाडौं महानगरका सबै सवारी साधनलाई लोगो अङ्कित गरिँदै

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरको स्वामित्वमा भएका सबै सवारी साधनमा लोगो अङ्कित गर्ने काम थालिएको छ । आज बिभागीय प्रमुखले प्रयोग गर्ने सवारी साधन सभा गृहमा ल्याएर महानगरको लोगो अङ्कित स्टिकर टाँसेर कामको थालनी गरिएको हो ।

अब महानगरका सम्पत्तिका रुपमा किनिएका सानाठूला, दुईपाङ्ग्रे- चार पाङ्ग्रे सबै सवारीमा स्टिकर टाँसिनेछ । काठमाडौंको सहरी व्यवस्थापन र सुबिधा व्यवस्थापनको जिम्मेवारी लिने कार्यालयको पहिचान होस् र सवारी दुरुपयोग नहोस् भनेर आजबाट सबै सवारी साधनमा स्टिकर टाँस्न थालिएको हो ।

प्रशासन बिभागका प्रमुख नमराज ढकाल भन्नुहुन्छ — रातो प्लेटलाई सेतो प्लेटमा रुपान्तरण गराउने काम गरिरहेका छौं । लोगो राखेपछि बिपद् व्यवस्थापनलगायत अत्यावश्यक काममा जाँदा ट्राफिक प्रहरीले चिनेर सेवा दिनु पर्ने ठाउँमा छिटो पुग्न सहयोग हुन्छ भनेर स्टिकर टाँसेका हौं ।

स्थानीय सरकारले नागरिकलाई जन्मदेखि मृत्यु पर्यन्तका सेवा दिनुपर्छ । पहिचान शिफारिस गर्नुपर्छ र आपत्मा जोगाउनु पर्छ । कतिपय बेलामा सेवाग्राही भएकै ठाउँमा तत्काल पुगेर सेवा दिनु पर्छ ।

यसका लागि पनि महानगरका सवारी साधनको पहिचान जरुरी थियो । यससँगै सवारी साधनका सम्भावित दुरुपयोग रोक्नु पर्ने पनि थियो । स्टिकर टाँसेपछि अब यी दुवै लक्ष्यमा काम गर्न सजिलो हुन्छ, ढकालको भनाइ छ ।

यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यका अनुसार महानगर क्षेत्रको फोहोर संकलन, ढुवानी र अन्तिम व्यवस्थापन कार्यमा प्रयोग गर्ने करीब १५० वटा र बिभागीय प्रमुखहरुले प्रयोग गरिरहुनभएका ५३ वटा सानाठूला सवारी साधन छन् ।