सुप्रसिद्ध समाजसेवीलाई जन्मदिनको ‘उपहार’ कोरोना


भगवती तिमल्सिना/मोतीराम तिमल्सिना, काभ्रे

प्रत्येक वर्ष धुमधामसँग जन्मदिन मनाएर समाजमा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संघ–संस्थाहरुलाई आफ्नै पारिवारिक प्रतिष्ठानबाट सम्मान गर्दै आएका धुलिखेल–७ का ९८ वर्षे समाजसेवीलाई यस वर्ष जन्मदिनकै दिन कोरोना संक्रमित भएको पुष्टि भएको छ ।

उहाँलाई अहिले धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा राखी उपचार गरिंदै छ । धुलिखेलमा अस्पतालको परिकल्पना गर्नुहुने स्थानीय व्यक्ति भएकाले अस्पताल परिवार मात्र नभई अस्पतालमा कार्यरत थुप्रै स्वास्थ्यकर्मीहरुले पनि उहाँलाई भेटेको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि उहाँ काठमाडौंको नयाँ वानेश्वरमा छोरा–बुहारीका साथमा बस्दै आउनुभएको थियो । दुईदिनअघि उहाँलाई ज्वरो आएको र पिसाब बन्द भएका कारण नियमित परीक्षण गराउँदै आएको धुलिखेल अस्पतालमै उहाँलाई ल्याइएको परिवारका सदस्यले जनाएका छन् ।

उहाँलाई दुई दिनदेखि ज्वरो आएकाले पहिला वर्षहरुमा जस्तो जन्मदिन नमनाउने र जहाँ बस्नुभएको छ त्यहीं भएका परिवारका सदस्यले टीका लगाएर शुभकामना दिने कार्यक्रम तय भएको थियो । उहाँको हेरचामा जुट्नुभएकी एक महिला सदस्यलाई पनि मंगलबारदेखि ज्वरो आएको बुझिएको छ ।

सोमबार राति लिइएको कण्ठ–¥याल (थ्रोट–स्वाब) को पिसिआर परीक्षण रिपोर्ट मंगलबार दिउँसो १ बजे पोजेटिभ देखिएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालका वरिष्ठ चिकित्सकहरुले मंगलबारै उहाँको लक्षणलाई ध्यानमा राखी परीक्षणपूर्व नै कोरोना संक्रमणको प्रारम्भिक अवस्था भएको परिवारलाई जानकारी गराएका थिए । तरपनि उहाँको शरीर मोटो भएकाले एकजनाले उठाउन नसक्ने भएकाले चार जना कुरुवा साथमै बसेका थिए ।

मंगलबार बिहानै जन्मदिनको शुभकामना दिन अस्पताल पुगेका आफन्तले उहाँलाई भेट्न पाएनन् । जन्म दिनको अवसरमा थप भेटघाट नहोस् भनेर अस्पतालले मंगलबार बिहानै आइसोलेसनमा राखी कुरुवालाई समेत घर फर्काएपछि जन्मदिनका दिन देख्न पनि नपाएको परिवारका एक सदस्यले बताउनुभयो ।

तर समाजसेवी ज्येष्ठ नागरिकलाई सोमबार अस्पतालका उच्च पदस्त व्यक्तित्वहरुनै स्वास्थ्य परीक्षण र भेटघाटमा जुट्नुका साथै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा घुलमिल भएकाले अस्पताल, समुदाय, परिवार, भेटघाटमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रहेका व्यक्तिहरु ठूलो संख्यामा रहेका र मानसिक रुपमा त्रसित भएको अस्पताल स्रोतले जनाएको छ ।

परिवारका एक सदस्यले दुःखी हुँदै भने ‘धुलिखेलको विकासका लागि युवा अवस्थादेखि समाजसेवा गर्दै आएका व्यक्ति आज वृद्ध अवस्थामा परिवारको सहयोगको आवश्यकता पर्दा एक्लै बस्नुपर्ने कस्तो रोग लाग्यो । घरबाट बाहिरसम्म निस्कन नसक्ने अशक्त व्यक्तिलाई कोरोना संक्रमण होला भन्ने हामीले कल्पनासम्म गरेका थिएनौं ।’

काभ्रेमा मंगलबार थप तीन प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । काभ्रेमा यसअघि संघीय प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पटक पटक गरी संघीय प्रहरीका १० जना र जिल्ला प्रहरी काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै जिल्लामा संक्रमित प्रहरीको संख्या १४ पुगेको छ । हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने एक महिलाको मृत्यु भइसकेको छ ।