पहिरोले घर भत्काएपछि डेढ महिनादेखि त्रिपालमुनि बास

0
Shares

भूपराज बस्याल, स्याङ्जा
असार १२ गते आएको अत्यधिक वर्षाका कारण घर भत्किएपछि गल्याङ नगरपालिका–११ भाटी सिम्लेका खगेन्द्रप्रसाद अधिकारीको परिवार डेढ महिनादेखि त्रिपालको सहारामा गुजरा चलाइरहेको छ ।

घर भत्किएपछि पाएको एउटा त्रिपालमुनि बसेर सहयोगी हातहरूलाई चियाउँदै आउनुभएका अधिकारीले अहिलेसम्म सबै क्षेत्रबाट आश्वासन भन्दा केही पाउनुभएको छैन । एउटा त्रिपाल र एक बोरा चामल मात्रै उपलब्ध गराएको नगरपालिकासमेत एकपटक समस्या बुझ्न नआएको पीडित अधिकारीकोे गुनासो छ ।

पीडितको वस्तुस्थिति बुझेर कसरी सहयोग गर्न सकिन्छ भन्दै पीडित भेट्न पुग्नुभएका गण्डकी प्रदेश सांसद भागवत्प्रकाश मल्लसँग रेडक्रस गल्याङबाट एउटा त्रिपाल, भाडाकँुडा, ५ हजार र गरपालिकाबाट केही सहयोग मात्रै पाएको उहाँले गुनासो पोख्नुभयो ।

नेपाली कांग्रेस गल्याङ नगर कमिटीसहित पीडितको घरमा पुग्नुभएका सांसद मल्लले पीडितको उद्घारका लागि प्रदेश सांसदमा कुरा राख्ने र सरकारबाट पाउने सहयोगका लागि पहल गरिदिने वचन दिनुभयो । नगर कमिटीसहित पुगेको टोलीले तत्काल राहतका लागि सत्र हजार नगद हस्तान्तरणसमेत गरेको छ ।

गल्याङदेखि तीनदोबाटो जाने बाटोको छेउमा रहेको दुईतले ढुङ्गाको घरमा पछिल्लो समय बूढाबूढी मात्रै बस्दै आउनुभएको थियो । असार १२ गते घरको काम गर्दैगर्दा बम पड्के जस्तो आवाज आएपछि हेर्दा आफ्नै घर पहिरोले लगेपछि उहाँहरू घरबारविहीन हुनुभएको हो । भत्किएको समयमा घरमा कोही नभएको हुँदा मानवीय क्षति भने केही हुन पाएन ।

आफू सासूआमा बिमारी भएकाले भेट्न जाँदै गर्दा केही माथि पुगेको र बूढी अलि पर भाँडा माझ्दै गर्दा घर पहिरोले लगेकाले मानवीय क्षति हुन नपाएको खगेन्द्रको भनाइ छ ।

करिब ५१÷५२ सालतिर दुःख गरी बनाएको घर भत्किएपछि आफूहरू सहाराविहीन भएको अधिकारीको गुनासो छ । दुई छोराहरू जागिरको सिलसिलामा एक भारत र एक काठमाडौंमा छन् । छोराहरूबाट राम्रो हेरचाह नहुँदा र भएको घरसमेत पहिरोले लैजाँदा खगेन्द्रको मन झनै भक्कानिएको छ ।

स्थानीय निकायबाट हुने सबै काम भइसकेको र तत्कालका लागि राहतसमेत उपलब्ध गराएको वडाध्यक्ष शंकरदेव अधिकारीको भनाइ छ । उहाँले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘घर पूर्ण क्षति भएको विवरणसहित नगरपालिकाबाट सबै कागजपत्र तयार भइसकेको छ । माथिबाट रकम आउनासाथ उपलब्ध गराउँछौं ।’