सडकभरि मास्क नै मास्क

0
Shares

हेटौंडा, (नेस)

केही मत्थर भएको कोरोनाको ग्राफ फेरि बढ्न थालेपछि हेटौंडा बजारका सडकमा अन्य फोहोरभन्दा प्रयोग गरेर फालिएका मास्कजन्य फोहोर बढ्न थालेको छ । प्रयोग गरिसकेको मास्क काम नलाग्ने भएपछि बाटोमै फाल्ने अनि नयाँ किनेर लगाउने गरेका कारण सडकमा मास्क भेटिने गरेको हो ।

हेटौंडाको बजार क्षेत्रमा स्थानीयले मास्क सडकमै जथाभावी फ्याँकिदिँदा आफूहरूलाई समस्या भएको सफाइ कर्मचारीले बताएका छन् । सडकमा हिँड्नेलाई जोखिम हुने गरी फोहोर फ्याँक्ने गरेको बजारमा काम गर्ने सफाइ कर्मचारीले बताएका छन् ।

हेटौंडा उपमहानगरपालिका वातावरण शाखा मातहत २२ वर्षदेखि निरन्तर सडक सरसफाइ गर्दै आउनुभएका रामकृष्ण देउला आफूहरूलाई निकै जोखिम भएको बताउनुहुन्छ । सर्वसाधारणको हेपाहा प्रवृत्तिले आफूमात्र नभएर घर–परिवार तथा टोलमै कोरोना फैलने जोखिम उच्च हुने देउलाको भनाइ छ ।

‘हामी काम त फोहोर बढारेर सफा गर्ने नै गर्छौैं । तर, पनि सबैको ज्यान एउटै हो भन्ने सोचेर फोहोर मास्क सडकमा नफाल्ने हो भने त सडक सफा पनि हुन्थ्यो र महामारी फैलने त्रास पनि हुन्नथ्यो । हामीलाई अरूले लगाएको मास्क टिपेर फाल्न डर लाग्छ । तर, के गर्नु बाध्यता छ । हामी सरसफाइ कामदारको दयाका लागि भए पनि प्रयोग गरिएको मास्क, पन्जा जथाभावी नफालिदिए हुन्थ्यो ।’ –उहाँले भन्नुभयो ।

कोरोना भाइरसबाट बच्न मास्क प्रयोग अनिवार्य रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ । हाल कोरोनाबाट बच्न केएन–९५ मास्क, एन–९५ मास्क, सर्जिकल मास्क तथा कपडाको मास्क प्रयोग गरिँदै आएको छ ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गरेपछि हेटौंडामा पनि भीड हुने क्षेत्रमा मास्क कार्यान्वयनमा प्रहरी सक्रिय छन् । मास्क नलगाउनेलाई १ सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेसँगै हेटौंडामा मास्क प्रयोग गर्नेको संख्या पनि बढेको हो ।

मास्क लगाउने बढेसँगै बजारका सडकमा प्रयोग गरिएको मास्क यत्रतत्र फालिएको पाइएको छ । घरबाट बजार आउँदा मास्क लगाएर आउने अनि बजार आएर अर्को मास्क किनेर लगाएर पुरानो मास्क बाटोमा फाल्ने कारण सडकमा मास्ककै फोहर बढी हुन थालेको पाइएको हो ।

उपमहानगर वातावरण उपशाखा प्रमुख वरिष्ठ सहायक केशव देवकोटाले प्रयोग गरिसकेको मास्क, पन्जा जथाभावी फाल्ने र बाटोमा जथाभावी थुक्ने प्रवृत्तिले सफाइ कर्मचारीलाई जोखिम बढेको बताउनुभयो ।

हेटौंडाको धेरै ठाउँ सिल

हेटौंडास्थित सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बैंक सिल गरिएको छ । बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक सिल गरिएको प्रहरीले जनाएको छ ।

आइतबार मकवानपुरमा पुष्टि भएका २३ जनामा ९ जना बैंकमा कार्यरत कर्मचारी रहेको बताइएको छ । हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित प्रहरी चौकी, वडा नम्बर–१० बसपार्कको प्रहरी चौकी, हेटौंडा—१० को पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेड र वडा नम्बर–९ को नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि सिल गरिएको छ ।