लार्के र यांग्रीको काम अगाडि बढ्यो


नेपाल समाचारपत्र, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको अर्काे योजना लार्के र यांग्रीको काम अगाडि बढेको छ । मेलम्ची खानेपानी विकास समितिले लार्के र यांग्रीखोलाको पानी ल्याउन काम अगाडि बढाएको हो ।

समितिका सहप्रवक्ता राजेन्द्र पन्तले मेलम्चीको दोस्रो परियोजनाको रुपमा लिइने लार्के र यांग्रीको काम अगाडि बढेको जानकारी दिनुभयो ।

अहिले लार्के र यांग्रीसम्म पुग्ने पहुँच मार्ग निर्माण र सुधारको कार्य जारी रहेको उहाँको दाबी छ । यस क्रममा ३ सय ५४ रोपनी जग्गा अधिग्रहण गरिएकोमा ती जग्गाको मुआब्जा वितरणको कार्य भइरहेको उहाँले बताउनुभयो ।
जग्गा अधिग्रहणबापत समितिले २ करोड ९६ लाख रुपियाँ मुआब्जा वितरण गरिसकेको छ । ‘अहिले मुआब्जा र क्षतिपूर्ति दिन बाँकीको दिने कार्य जारी राख्नुको साथै पहुँचमार्ग निर्माण र सुधारको काम भइरहेको छ’ –समितिका सहप्रवक्ता पन्तले जानकारी दिनुभयो ।

समितिले मेलम्चीपछि लार्के र यांग्रीखोलाको पानी काठमाडौं ल्याउन तीव्र तयारी थालेको छ । समितिले दुवै खोलाको पानी सुरुङ मार्ग हुँदै दैनिक १७÷१७ करोड गरी ३४ करोड लिटर ल्याउन लागिएको हो ।
यी खोलाबाट पानी ल्याउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत बनाइसकेको अवस्था रहेको समितिले जनाएको छ ।

यांग्रीखोलाबाट दैनिक १७ करोड लिटर पानी मेलम्ची खोलामा खसाल्न ९ किमि सुरुङ र लार्के खोलाबाट १७ करोड लिटर पानी दैनिक यांग्रीमा खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ ।

लार्के र यांग्रीको काम सम्पन्न भएपछि उपत्यकामा दैनिक ५१ करोड लिटर खानेपानी आपूर्ति हुनेछ । दैनिक ५१ करोड लिटर पानीको आपूर्ति भएपछि काठमाडौंबासीको खानेपानीको मागलाई ९० प्रतिशतले धान्ने विज्ञहरुले बताएका छन् ।

निर्माण कार्य थालेको ४ वर्षभित्र सम्पन्न गर्ने यो परियोजनामा २५ अर्ब लागत लाग्ने अनुमान समितिको रहेको छ । मेलम्ची पुलबजारदेखि लार्केसम्म पुग्न २५ किमि सडक ट्रयाक खोलेर सुधारको काम भइरहेको समितिले जनाएको छ ।