कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ नेपालमा किन ल्याइएन


कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ नेपालमा पनि प्रयोगमा ल्याउन सकिने सम्भावनाबारे अध्ययन अघि बढाइएको छ।  स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिइ अमेरिका, युरोप र भारतमा यसको प्रयोगमा सफलता देखिएपछि नेपालमा पनि यसको प्रभावकारिताबारे अध्ययन सुरु गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

विज्ञहरूका अनुसार ‘एन्टी भाइरल ड्रग’ को रुपमा रहेको यो औषधि संक्रमितलाई दिएपछि यसले भाइरसलाई परास्त गर्न सघाउ पुर्‍याउने छ। जसले गर्दा संक्रमित चाँडै निको भएर घर फर्कन सक्छन्।

कोरोना संक्रमितको उपचारमा खटिएका संक्रामक रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन्, ‘विभिन्न क्लिनिकल ट्रायलले यसले उपचारमा सघाउ पुर्याएको देखिएको छ। जसले गर्दा विरामीको अस्पताल बसाइ घटेको देखिन्छ। तर अहिले पनि अनुसन्धान भइरहेकाले यसले ठूलै परिवर्तन ल्याउँछ भन्नु हुँदैन।’

उनले रेम्डेसिभिर संक्रमितलाई दिएपछि यसले भाइरस वृद्धि हुन नदिएको अनुसन्धानहरूमा देखिएकाे बताए। उनले यो औषधि केही खर्चिलो भएकाले पनि एकै पटक यसलाई प्रयोगमा ल्याउने हाम्रो क्षमता पुग्छ कि पुग्दैन भन्ने कुरामा पनि मध्यनजर गर्नुपर्ने बताए।

‘यो अलिक खर्चिलो पनि छ। त्यसैले अहिले भइरहेको क्लिनिकल ट्रायलहरूले कस्तो नतिजा दिन्छ त्यही अनुसार यसलाई प्रयोगमा ल्याउँदा व्यवहारिक हुन्छ,’ उनले भने।

सुरुमा यो औषधि इबोला भाइरसको उपचारमा प्रयोग गरिएको थियो। यसलाई अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ‘एफडिए’ ले पनि मान्यता दिएको छ।

भारत लगायत अन्य देशमा प्रभावकारिता देखिएको भन्दै विज्ञहरूले यो औषधि नेपालमा पनि शीघ्र प्रयोगमा आउनुपर्ने जोड दिएका छन्।

त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट प्रध्यापक डा. प्रकाश घिमिरे भन्छन्, ‘यो औषधिको प्रयोगले संक्रमितमा सुधार आएको देखिएको छ। विरामीहरू अलिक चाँडै निको भएर घर फर्किएका छन्। त्यसैले सरकारले यसलाई प्रयोगमा ल्याउन ढिलाइ गर्नुहुन्न।’

यो औषधि नेपालमा प्रयोगमा आउन औषधि व्यावस्थापन विभागमा दर्ता हुनुपर्छ। परिषद्का अनुसार अहिले उक्त प्रकृयाका लागि विभागलाई अनुरोध गरिएको छ।

परिषद्ले यो औषधिको ‘क्लिनिकल ट्रायल’ गर्न प्रकृया अघि बढाएको छ। परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञावलीले सेतोपाटीसँग भने, ‘यो औषधिको प्रभावकारीताबारे क्लिनिकल ट्रायल गर्न खोजेको हो। यसका लागि सबै कोभिड अस्पतालहरू पनि तयार छन्। हामीले अन्य देशमा यसको प्रभावकारिताबारे थाहा पाउनेवित्तिकै नेपालमा पनि प्रभावकारिता अध्ययन गर्न प्रकृया थालेका हौं।’

अहिले परिषद्ले ‘प्लाज्मा थेरापी’ बाट पनि कोरोना संक्रमितको उपचार कति प्रभावकारिता हुन्छ भन्ने अनुसन्धान गरिरहेको छ। उक्त विधिको प्रयोग टिचिङ अस्पतालमा भइसकेको छ।

अस्पतालले नेपालमै पहिलोपटक कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रयोग गरेको हो। जसको प्रयोगले संक्रमितको सफल उपचार भएको दाबी गरिएको छ।

उक्त विधिबाट सफल उपचार भएपछि मन्त्रालयले अन्य १२ वटा अस्पताललाई प्लाज्मा थेरापी विधि प्रयोग गर्न पाउनेगरी अनुमति दिएको छ। जसमा चार वटा निजीसहित १२ वटा अस्पताल छन्।

प्लाज्मा थेरापीबाट कोरोनाका गम्भीर विरामीको उपचार गर्न मिल्छ। तर रेम्डेसिभिर औषधि भने सामान्य लक्षण देखिएका र मध्यम अवस्थाका विरामीमा मात्र प्रयोग गर्न मिल्ने डा. ज्ञवाली बताउँछन्।

उनले पनि यसको प्रयोगले विभिन्न देशहरूमा कोरोना संक्रमित अस्पतालबाट चाँडो निको भएर घर फर्किएको बताए। उनले भने, ‘भारतमा यसको प्रयोग गर्दा १५ दिन अस्पताल बस्नुपर्ने संक्रमित ११ दिनमा निको भएर घर फर्किएको देखिएको छ।’

उनले यसको क्लिनिकल ट्रायल गर्न परिषद्ले तेस्रो चरणमा काम गरिरहेको जनाए।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले आवश्यक परेमा यो औषधि उपलब्ध गराउने हिसाबले काम अघि बढेको बताए। उनले अन्य देशहरूले अहिले यसको ट्रायल मात्र गरिरहेको र प्रयोगमा ल्याई नसकेको दाबी गरे।

‘संसारभर नै अहिले यसको ट्रायल भइरहेको हो। अध्ययन् भइरहेको हो। कतै पनि यसको प्रयोग भएको छैन,’ उनले भने, ‘नेपालमा पनि त यसअघि प्लाज्मा थेरापीको ट्रायल गरिएको थियो नि। अहिले यसमा भइरहेको पनि यही नै हो।’

उनले भोलि चिकित्सकले सिफारिस गरेमा यो रेम्डेसिभिर उपलब्ध गराउन सकिने जनाए। ‘अहिले कोरोनाको औषधि कतै बनिसकेको छैन। सबैतिर औषधिहरूको ट्रायल मात्र भइरहेको छ’ प्रवक्ता गौतमले भने, ‘भोलि हामीलाई पनि चिकित्सकहरूले यो चाहियो भन्नुभयो भने हामी उपलब्ध गराउँछौं।’

छिमेकि मुलुक भारतमा पनि गत महिना यो औषधि केही संक्रमितहरूमा प्रयोग गर्दा प्रभावकारी देखिएको बताइएको छ।