परीक्षा गर्न सकेन खुला विश्वविद्यालयले

–विश्वविद्यालय भन्छ: दशैंअघि सबै परीक्षा सक्छौं


ईश्वरराज ढकाल, काठमाडौं
अनलाइनबाट पढाइ हुने र परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको नेपाल खुला विश्वविद्यालयले हालसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन । करिब १ हजार ६ सय विद्यार्थी अध्ययन गरिरहेकोे विश्वविद्यालयले सेमेस्टर प्रवेश परीक्षा सञ्चालन गर्न नसकेपछि आलोचना बढेको छ ।

त्यति मात्र होइन विश्वविद्यालयले अस्ति शनिबार सञ्चालन गरेको अनलाइन प्रवेश परीक्षासमेत स्थगित भएको छ । सर्भर डाउन भएका कारण परीक्षा स्थगित भएको विश्वविद्यालयले जनाएको छ । परीक्षाको पर्खाइमा रहेका विद्यार्थीले प्रवेश परीक्षा सञ्चालन गर्न नसक्ने विश्वविद्यालयले कसरी अनलाइनबाट परीक्षा सञ्चालन गर्छ भन्ने प्रश्न गर्न थालेका छन् ।

प्रवेश परीक्षा लिन नसकेपछि डीन प्राडा शिलु मानन्धर वज्राचार्यले सोही दिन सूचना प्रकाशित गरी एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा स्थगित भएको जनाउनुभएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. लेखनाथ शर्मा (पीएचडी) ले सर्वरमा समस्या आएकाले प्रवेश परीक्षा गर्न नसकिएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो– ‘हामी अहिले पनि प्रयास गरिरहेका छौं, केही दिनपछि परीक्षा सञ्चालन गर्नेछौं ।’ अनलाइनबाट पढाइ भइरहे पनि फेस टु फेस माध्यमबाट परीक्षा लिने गरेका कारण प्रविधि प्रयोगमा कमजोरी देखिएको उहाँको भनाइ थियो ।

विश्वविद्यालयका रजिस्ट्रार कमल ढकालले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको बताउनुभयो । प्रवेश परीक्षा लिन नसकेको विषयमा जानकारी गराउँदै उहाँले भन्नुभयो– ‘सर्वरमा समस्या आएकाले समयमै परीक्षा सञ्चालन गर्न नसकेको हो ।’

परीक्षा दिन विद्यार्थीले प्रविधि प्रयोग गर्दा समस्या आएको थियो । ‘अब गाइडलाइन तयार गरिरहेको छौं, प्राज्ञिक परिषद् र एकेडेमिक काउन्सिलले निर्णय गरी नयाँ अनलाइनबाट परीक्षा सञ्चालन गर्नेछौं’ –भन्नुभयो ।
अधिकांश विद्यार्थी वैशाखमा भर्ना भएको कारण ढिलो नभएको उहाँको जिकिर थियो । उहाँले भन्नुभयो– ‘दशैंअघि परीक्षा सक्ने तयारी गरिरहेका छौं, परीक्षामा कुनै समस्या हुँदैन ।’ उहाँले अनलाइन परीक्षा सञ्चालन गर्ने विषयमा तयारी नगरेका कारण केही समस्या परेको जानकारी दिनुभयो ।

उहाँले परीक्षाको मिति १५ दिन अघिपछि परेर कुनै समस्या नहुने बताउँदै समयमै परीक्षा सक्ने तयारी भइरहेको दाबी गर्नुभयो । तर विद्यार्थीले भने करिब एक वर्षसम्म परीक्षाको कार्यक्रम पछि सरेको जनाएका छन् । एमफिलका विद्यार्थी तारानिधि दाहालले ६–६ महिनामा हुनुपर्ने परीक्षा एक वर्ष पुग्दा पनि हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘असार ९ गते एक वर्ष पुगिसकेको छ, अहिलेसम्म दोस्रो सेमेस्टरको फारमसमेत खुला गरेको छैन, परीक्षाको त कुरै छाडौं ।’

काठमाडौं विश्वविद्यालयले परीक्षा लिइसकेको अवस्थामा यो विश्वविद्यालयलाई किन परीक्षा लिन नसकेको भन्ने विषयमा सरकारको चासो पुगेको छैन । अधिकांश परीक्षार्थीले परीक्षा गर्न माग गर्दै उपकुलपति कार्यालयलाई आग्रह गर्दा चाँडै परीक्षा गर्ने भन्दै पन्छिन थालेका छन् ।

रजिस्ट्रार ढकालले केही दिनमै सबै सेमेस्टर अनुसार परीक्षा तालिका सार्वजनिक गरी दशैंअघि परीक्षा सम्पन्न गर्ने लक्ष्य रहेको दाबी गर्नुभयो । सो विश्वविद्यालयले आफूलाई उच्चकोटिको र अनलाइन माध्यमबाट पढाउने र परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको दाबी गर्दै आएको छ । अहिलेसम्म परीक्षा नहुँदा विश्वविद्यालयको साख गुम्ने खतरा छ ।

उपकुलपति प्रा. शर्माले फेस टु फेस परीक्षा लिने गरेका कारण अनलाइन प्रविधिमा परीक्षा लिन केही कठिन भइरहेको स्वीकार्नुभएको छ । उहाँले भन्नुभयो–‘व्यवस्थापनमा केही त्रुटि भएको हो, समयमै समाधान गरी सेमेस्टर र प्रवेश परीक्षा सञ्चालन गर्नेछौं ।’

२०७३ असार ३० गते नेपाल खुला विश्वविद्यालय ऐन पारित भएपछि नेपालमा खुला विश्वविद्यालय स्थापना भएको थियो । २०७४ जेठ ३० गतेदेखि आधुनिक सूचना तथा सञ्चार प्रविधि र उपकरणको प्रयोग गरी खुला तथा दूरशिक्षा प्रणालीको माध्यमबाट पढाइ शुरु गरेको थियो ।

खुला शिक्षा प्रणालीलाई नवीनतम शिक्षण विधि तथा सूचना प्रविधिको माध्यमबाट विभिन्न विषयको उच्चस्तरीय अध्ययन अध्यापन तथा अनुसन्धान गर्न स्थापना भएको विश्वविद्यालय प्रविधिमै कमजोर देखिएको छ ।

घर नछाडी पढ्ने र सूचना प्रविधिको प्रयोग गर्ने व्यवस्था भएकाले यो विश्वविद्यालयको शिक्षा अन्य विश्वविद्यालयको परम्परागत शिक्षाभन्दा विश्वसनीय रहेको विश्वविद्यालयका पदाधिकारीको दाबी छ ।
विश्वविद्यालयमा करिब दुई दर्जन कार्यक्रम सञ्चाललित छन् । विश्वविद्यालयमा सामाजिक तथा शिक्षाशास्त्र, व्यवस्थापन र कानुन, विज्ञान स्वाथ्य, आमसञ्चार र प्रविधि विषयमा पढाइ भइरहेको छ ।