यसरी पढाउन सकिन्छ- काँडेबासमा कोरोनाले नरोकेको पढाइ


सिर्जना पन्त, बाग्लुङ

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना संक्रमणका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त छ । गत वर्षको परीक्षा त स्थगित भयो नै । नयाँ शैक्षिक सत्रको पठनपाठनसमेत अनिश्चित भएको छ । बालबालिकाले पढाइ भन्दा पनि घुम्ने–डुल्ने, टिभी हेर्ने, मोबाइलमा गेम खेलेरै दिन बिताउने गरेका छन् । जसका कारण अभिभावक आजित बनिरहेका छन् ।

अधिकांश सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरी विदेशबाट आउने नागरिकलाई व्यवस्थापन गरिँदै आइएको छ । यसले गर्दा विद्यार्थीलाई सुरक्षा सामग्रीको प्रयोग गरि सामाजिक दूरी कामय गरेर अध्ययापन गराउने अवस्था पनि छैन । त्यसैले जिल्लाभर लकडाउन खुला भएसँगै थोरै–थोरै संख्यामा थालिएको पठनपाठन पनि जिल्ला शिक्षा समन्वय एकाइको कार्यालय बाग्लुङले विवाद निम्ताएको भन्दै तत्काल रोक्न निर्देशन दिएको छ ।

तर, जिल्लाको गलकोट नगरपालिका–६ काँडेबासमा रहेको शिव माध्यमिक विद्यालयले भने विद्यार्थीलाई भिन्न शैली अपनाएर पढाइरहेको छ । सेवा क्षेत्रभित्रका बालबालिकालाई टोल–टोलमा पुगेर शिक्षण गराइरहेको विद्यालयले जनाएको छ ।

‘लकडाउन शुरू भएको केही समयदेखि नै टोल–टोलमा पुगेर विद्यार्थी पढाउन शुरू गरेका हौं, सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरि पढाउँदै आएका छौं’, प्रधानाध्यापक चालिसेले भन्नुभयो– ‘यस्तो समयमा पनि पढाउँछन् भनेर धेरैले गुनासो पनि गर्नुभयो । तर, हामीले सुरक्षित भएर विद्यार्थीलाई अध्यापन गराइरह्यौं ।’

शिक्षकको ११ वटा समूह निर्माण गरी विद्यार्थीलाई निश्चित संख्यामा राखेर पढाइएको उहाँको भनाइ छ । विद्यालय सेवा क्षेत्रका विभिन्न १० स्थानमा ‘शिव मावि अध्ययनस्थल’ तोकेर हरेक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पढाउँदै आएको प्रधानाध्यापक चालिसे बताउनुहुन्छ । ‘विद्यार्थीलाई पायक पर्ने स्थान छनोट गरेर १० स्थानमा अध्ययनस्थल तोकेर त्यही स्थानमा पढाउँदै आएका छौं’, उहाँले भन्नुभयो– ‘अध्ययनस्थलमा पुग्नका लागि प्रत्येक विद्यार्थीलाई १०÷१५ मिनेट लाग्छ ।’

यसरी विद्यार्थीलाई टोल–टोलमा पुगेर अध्यापन गराउन त्यति सहज भने छैन । तर पनि शिव माध्यमिक विद्यालयले संकटमा शिक्षणको दायित्व पूरा गर्न शिक्षण क्रियाकलापलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।
खानेपानी, शौचालयलगायतको व्यवस्थापनमा पनि उत्तिकै चूनौती नै हुने गर्छ । विद्यालयले सबै अध्ययन स्थलमा खानेपानी र अस्थायी शौचालयको व्यवस्थापन गरेको प्रधानाध्यापक चालिसेको भनाइ छ । ‘तत्कालको समस्यालाई समाधानका लागि सबै स्थानमा खानेपानी र अस्थायी शौचालयको व्यस्थापन गरेका छौं, यसको व्यवस्थापनमा अलिकति समस्या त हुँदो रैछ, तैपनि हामीले व्यवस्थापन ग¥यौं ।’ –उहाँले भन्नुभयो ।

वार्षिक परीक्षा हुने समयमा कोरोना महामारीको हल्ला मच्चिन थालेसँगै तोकिएको मितिभन्दा केही समयअघि नै परिक्षा शुरू भएको थियो । तर, परीक्षाको नतिजा सार्वजनिक नहुँदै लकडाउन शुरू भएको थियो । बाग्लुङका अधिकांश विद्यालयले समाजिक सञ्जाल फेसबुक तथा अन्य माध्यमबाट नतिजा सार्वजनिक गरेका थिए ।

विद्यालयले नतिजा सार्वजनिक भएलगत्तै सबै विद्यार्थीलाई पुराना पाठ्य पुस्तकहरू बाँडेरै भए पनि शिक्षणलाई अगाडि बढाउँदै आएको छ भने विभिन्न चरणमा विद्यार्थीलाई फरक–फरक किसिमले शिक्षण गरिएको छ ।

लकडाउन लम्बिने र विद्यालय तत्काल खोलिने सम्भावना नरहे पछि नयाँ पाठ्य पुस्तक समेत विद्यार्थीको हात–हातमा पु¥याएको प्रअ चालिसेको भनाइ छ । आफूहरुले गलकोट नगरपालिका र शिक्षासँग समन्वय गरेर शिक्षण गतिविधिलाई अगाडि बढाएको चालिसेले बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ बाग्लुङका प्रमुख कुश्मराज उपाध्यायले टोल–टोलमा पुगेर सुरक्षासम्बन्धी सबै उपाय अपनाएर शिक्षण गर्न मिल्ने बताउनुभयो ।

सरकारले असार असार १ गतेदेखि विद्यालय संचालन गर्ने भने पनि देशमा संक्रमितको संख्या बढ्दो र जोखिम पनि उच्च हुँदै गएपछि अन्य क्षेत्र जस्तै शैक्षिक संस्था पनि सञ्चालन हुन सकेका छैनन् ।