प्रिन्ट मेकिङमा बढ्दै छ आकर्षण


छापा चित्रण अर्थात् प्रिन्टमेकिङ विधामा कलाकारको आकर्षण बढ्दै गइरहेको विज्ञले बताएका छन्। ओदान केयू एल्मुनाइले गत बिहीबार गरेको भर्चुअल संवादमा वक्ताहरूले प्रिन्टमेकिङ विधाको अवस्था राम्रो बन्दै गए पनि राज्यले यसको विकासका लागि व्यवस्थित स्टुडियो बनाउनुपर्नेमा जोड दिए।
नेपाली प्रिन्टमेकिङ हिजो र आज विषयक संवादमा त्रिभुवन विश्वविद्यालय ललितकला केन्द्रीय विभागका सहप्राध्यापक डा. सीमा शर्मा साह, कलाकार सुषमा शाक्य र कलाकार कविराज लामा सहभागी थिए। नेपालमा प्रिन्टमेकिङको सुविधायुक्त स्टुडियोको आवश्यकता रहेको जनाउँदै सहप्राध्यापक डा. सीमा शर्मा साहले नेपालमा पछिल्लो समय युवापुस्ताका कलाकार यस विधाप्रति आकर्षित भएको बताइन्। कलाकार सुषमा शाक्यले प्रिन्टमेकिङ विधा नेपालमा शैक्षिकरूपमा समेत विकास हुँदै अगाडि बढिरहेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला केन्द्रीय विभाग र ललितकला क्याम्पस, काठमाडौं विश्वविद्यालयको आर्ट एन्ड डिजाइन विभाग, सिर्जना कलेज अफ फाइन आट्र्समा प्रिन्टमेकिङको अध्ययन अध्यापन हुने जानकारी गराइन्। कलाकार तथा कला लेखक देवेन्द्र थुम्केलीले सहजीकरण गरेको कार्यक्रममा कलाकार कविराज लामाले विश्वमा प्रिन्टमेकिङको विकास र विस्तारका बारेमा चर्चा गरेका थिए