कर्मचारीलाई दलको बिल्ला

डोटी जानै मान्दैनन् उच्चपदस्थ कर्मचारी


विमल विष्ट, डोटी

जिल्ला प्रशासन कार्यालय डोटीमा तोकिएका दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । सरुवा भएको लामो समयसम्म पनि कार्यालयको कामकाजमा कर्मचारी नआउँदा नागरिकतादेखि अन्य सेवा दिन समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको पद कम्तीमा पनि दुई वर्षदेखि जिल्ला प्रशासनमा खाली रहेको छ ।

विभागले नयाँ सहायक प्रमुख जिल्ला अधिकारी हालसम्म नपठाएका कारण उक्त दरबन्दी खाली रहेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो । कर्मचारी अभावमा सेवाग्राहीले समयमै सेवा नपाउँदा झनै समस्या हुँदै गएको उहाँको भनाइ छ । डोटीमा खासै कर्मचारी आउन नमान्ने गरेका कारण पनि यहाँका अधिकांश कार्यालय दरबन्दीअनुसारका कर्मचारीविहीन हुँदै गएका छन् ।

जिल्लामा सरुवा भएर आएका कर्मचारी राजनैतिक दलले कुन दलको भनेर हेर्ने दृष्टिकोण कायमै रहेकाले पनि सरुवा भएका ठूलो पोस्टका कर्मचारी आउन नमान्ने गरेकोे बुझाइ छ । आफू अनुकूल काम नगरे कर्मचारीलाई अर्कै दलको हो भन्ने आरोप लगाउँदै सरुवाका लागि पार्टीदेखि केन्द्र तहका नेतालाई गुनासो पोख्ने भएका कारण पनि डोटीमा खासै कर्मचारी आउन नमान्ने गरेको एक जना कर्मचारीले बताए । उनले भने– ‘आफू अनुकूल काम गरे आफ्नो र गर्न नसके अर्कै पार्टीको भन्दै आरोप लगाउने र सरुवाका लागि शक्ति केन्द्र धाउन चलन रहेछ, यस्तो ठाउँमा को आउछ र ?’

जिल्लामा रहेका राजनैतिक दलका नेताहरुमा कर्मचारीलाई दलगत रुपमा हेर्ने दृष्टिकोणमा फरक नभएसम्म यो समस्या जस्ताको तस्तै रहने कर्मचारीहरु बताउँछन् । डोटीमा राजनैतिक दलका नेताहरुका बिभिन्न आरोप र कामका बाधा गर्ने प्रवृत्तिका कारण कयौँ कर्मचारी सरुवा भएर आएको छोटो समयमै अन्यत्र जिल्ला सरुवा माग्ने गरेका छन् ।

यति मात्र नभई जिल्लामा सरुवा भएर आउने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारीलगायतका अन्य कार्यालयका प्रमुख तथा उपप्रमुखहरु कुन दलको हो, कसले सरुवा गरेको हो भनेर पहिले नै पत्ता लगाइराख्ने र आफू अनुकुलको नभए उनीहरुले गर्ने काममा बाधा अड्चन गर्ने नेताहरुको प्रवृत्तिका कारण पनि डोटीमा सरुवा भएका कर्मचारी आउन नमान्ने गरेको बताइएको छ ।

जिल्ला प्रशासनदेखि अन्य यहाँका सरकारी कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीले जहिले पनि समस्या भोग्नुपरेको छ । त्यसै गरी शाखा अधिकृत दुई जनाको दरबन्दी भए पनि लामो समयदेखि एक जना शाखा अधिकृत शिवकुमार राईले काम चलाउँदै आएको र उहाँको पनि जिल्ला प्रशनासन कार्यालय खोटाङ सरुवा भएका कारण झनै समस्या भएको जिल्ला प्रशासनका खरिदार तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने सेवाग्राहीको भीड बढेपछि कर्मचारी अभावमा सेवा प्रभावमा दिनहुँ समस्या हुँदै आएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो– ‘नागरिकतासहित अन्य सेवा लिन आउने सेवाग्राहीको भीड थेगिनसक्नु छ, हामीसँग कर्मचारी अभाव छ, सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।’