जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक अन्य सेवा बन्द


सुनील महर्जन, काठमाडौं
तीनवटै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु आज आइतबारदेखि बन्द हुने भएको छ ।

काठमाडौं उपत्यकाका कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकोलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाउन तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबार बसेको बैठकले १५ दिनका लागि सो निर्णय गरेको हो ।

‘जुन सेवा अहिले नदिइहुन्न, ती सेवा दिने र तर जुन सेवा दिँदा जोखिम बढ्ने सम्भावना रहन्छ, ती सेवा तत्कालका लागि बन्द गरेका छौं । सेवा सटडाउन गरेका छौं’ –काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भन्नुभयो ।

बैठकले अत्यावश्यक सेवामा शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य, विपद् व्यवस्थापनसम्बन्धी कार्य रहेका छन् ।

त्यसै गरी नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ताका साथै पत्रपत्रिका दर्ता र नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालक परिचय वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु पनि स्थगित गरिएको छ ।

अहिलेको अवस्थामा लकडाउन गर्ने परिस्थिति नभएको निष्कर्ष निकाल्दै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सेवा सटडाउन गर्ने निर्णय गरेको हो । संक्रमण बढिरहेको बेला जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारभित्र रहेर सेवा सटडाउन गरेको पनि प्रमुख जिल्ला अधिकारी दाहालको भनाइ रहेको छ ।

बैठकले सेवा सटडाउनको निर्णय गरेलगत्तै सामाजिक सञ्जालमा लकडाउन गरेको हो, लकडाउन र सटडाउनबीच के फरक छ, अन्य सरकारी कार्यालयहरु खुल्छ कि खुल्दैन भनेर आम जनताले सामाजिक सञ्जालमार्फत जिज्ञासा राखेका थिए भने लकडाउन नै हुने हो कि भन्ने चर्चा चलेको थियो ।

‘मानिसहरुको भीडभाड कम गर्ने पहिलो हतियारको रुपमा सटडाउन गरेको हो । आवागमन गर्न नपाइने गरी निषेधाज्ञा जारी गरेको भने अवश्य होइन’ –प्रमुख जिल्ला अधिकारीको दाहालले भन्नुभयो ।

तीनवटै जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह बन्द गर्ने भनिरहँदा अन्य कार्यालय पनि बन्द हुने अर्थमा नबुझ्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो ।

यसै गरी जहाँ कोरोना देखिन्छ त्यसवरपरको क्षेत्र सिल गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै कार्यालयहरुमा भीड नगर्न पनि अनुरोध गरिएको छ । व्यापारिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको निरीक्षण गर्ने र पालना नभएका प्रतिष्ठानलाई बन्द गराउने समेत निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्टले बताउनुभयो ।

बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको दाहालले जानकारी दिनुभयो ।

सटडाउनभित्र भीडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यालयहरुमा कम आवतजावत गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुले आग्रह गरेका छन् ।