कि व्यवस्थापन गर, नत्र आत्महत्या गर्न बाध्य हुनेछौं

सशस्त्र द्वन्द्वका घाइतेको पीडा

0
Shares

नरेन्द्र केसी, दाङ
दाङ बंगलाचुली–२ की कुमारी नेपाली जनयुद्धकी घाइते हुनुहुन्छ । उहाँले जनयुद्धमा एउटा आँखा गुमाउनुभएको छ । राम्रो भनिएको अर्को आँखाले पनि भनेजति काम गर्दैन । त्यही पनि एउटा आँखा छ र धन्न बेलाबेलामा पीडा पोख्न आँसु बगाउन साथ दिएको छ ।

तीन बालबच्चाकी आमा कुमारीलाई परिवारको जोहो र सन्तानको शिक्षादीक्षाको पिरलोले सताएको छ । गत आर्थिक वर्षसम्म उहाँले मासिक ६ हजार २ सय रुपियाँ जीवन निर्वाह भत्ता पाउँदै आउनुभएको थियो । ‘यो वर्ष त्यही भत्ता पनि कटाइदियो रे, अब के खाएर बाँच्ने हो, कसरी छोराछोरी हुर्काउने हो ?’, आँसुका धारासहित भक्कानिदै उहाँले भन्नुभयो– ‘युद्धको बेलामा नेताहरुले सबै जिम्मा लिन्छौं भन्थे र तर अहिले उनीहरु फर्किआउँदैनन्, हामीले नै लडेर ल्याएको दुई तिहाइको सरकारले पाउँदै आएको जीवन निर्वाह भत्ता पनि काटिदिएपछि अब कसरी बाँच्ने ?’

तुलसीपुर–१० का भूमिलाल चौधरी सिराह र म्याग्दीको बेनी लडाइँमा दुईपटक घाइते हुनुभयो । नशा चुँडिएकाले उहाँको एउटा हात र एउटा खुट्टा चल्दैन । उहाँले एउटा हात र एउटा खुट्टाको भरमा मजदुरी गरिरहनुभएको छ तर अपांगता थाहा पाएपछि अहिले उहाँलाई काम दिन छाडेका छन् । ‘तिम्रो त एउटा हात र एउटा खुट्टा चल्दो रहेनछ, के काम गर्न सकौला र काममा नआउनू भन्दै काम लागेको ठाउँबाट पनि फिर्ता पठाउँछन्’ –चौधरीको पीडा छ ।

अर्का घाइते योद्धा भुलबहादुर विकले दायाँ खुट्टा जनयुद्धमा गुमाउनुभयो । आधा शरीर दान गरेर आएको गणतन्त्रमा आज आफ्नो स्थान कतै नभेटिँदा उहाँलाई साह्रै पीडा हुन्छ । नेता सामान्य बिरामी हुँदा विदेश जाने, भव्य महलमा बस्ने र कार चढेर हँुइकिरहेको देख्ने भुलबहादुरको पीडा छ– ‘तर, हामी झुपडीमा पनि एक मानो खान पाएका छैनौं, वर्षौंदेखि गोली बोकेर बाँचेका छौं, हाम्रो नेताले हिजोको वर्गीय प्रतिबद्धता यति चाँडै किन भुले ?’

घोराही–१७ का केशव चौधरीको गिदीमै तीनवटा गोली छन् । गिदी पाकिरहन्छ । चिसोमा तेल र तातोमा पानी लगाएर दैनिक स्याहारसुसार गरेर श्रीमती लक्ष्मीले उहाँलाई अहिलेसम्म बचाइरहनुभएको छ । हरेक दिन औषधि खानुपर्छ र उहाँले पाउने मासिक ६ हजार २ सय औषधि किन्नमै सकिन्छ । ‘गिदीमा गोली छ, जति बेला पनि अफ्ठ्यारो हुन सक्छ, उहाँलाई छाडेर कतै काममा पनि जान सकिँदैन, घरमै बसेर जीविका कसरी धान्ने गाह्रो भइसकेको छ’ –लक्ष्मीको पीडा छ ।

कुमारी, भूमिलाल, भुलबहादुर र केशवजस्तै दाङमा साढे सात सय जनयुद्धका घाइतेहरु बस्छन् । त्यसमध्ये पनि गत वर्षसम्म २२ जनाले जीवन निर्वाह भत्ता पाउँथे । अब साढे सात सय जनालाई नै भत्ता हुनुपर्ने उनीहरुको माग थियो तर अहिले पुनर्मूल्यांकनका नाममा उनीहरुले पाउँदै आएको भत्ता पनि सरकारले काटेको भन्दै घाइतेहरुले चर्को विरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र पठाइएको जनक्रान्तिका घाइते तथा अपांग योद्धा संगठन दाङका संयोजक खगेश्वर घर्तीले जानकारी दिनुभयो ।