पहिरोमा परी १० को मृत्यु

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक
भारी वर्षाका कारण पहिरो खस्दा एकैदिन १० जनाले ज्यान गुमाएका छन् । आइतबार राति भारी वर्षा हुँदा मेलम्ची नगरपालिका–११ स्थित मेलम्चीबजार र पाँचपोखरी थाङपाल गाउँपालिकाको बरुवा पहिरोमा गरी १० जनाको मृत्यु भएको हो ।
घरमाथिको ढिस्को खसेर घर नै पुरिँदा मेलम्चीबजारमा निर्माणाधीन कभर्डहलको निर्माणका लागि आएका मजदुरहरु पहिरोमा पुरिएका हुन् । मेलम्ची पहिरोमा परी भारत बेतियाका राजेन्द्र चौरसिया, वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया, बारा सिमराका वर्ष २१ का राजेश चौधरी, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनम लामाको सुतिरहेको घरमै पुरिएर मृत्यु भएको हो । उनीहरु ८ जनाकै शव फेला परेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।
निर्माण मजदुरीका लागि आएका उनीहरुको ९ जनाको टोली बसेको घर नै पहिरोले पुरिएको थियो । भारत बेतिया घर भएका बारु साहलाई भने सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ ।
सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवाका ४८ वर्षीय यज्ञबहादुर क्षत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अविरल वर्षाका कारण मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकाका विभिन्न गाउँबस्ती पहिरोको जोखिममा परेका छन् । जोखिमयुक्त गाउँबस्तीको पहिचान गरी उनीहरुलाई सुरक्षित ठाउँमा व्यवस्थापनका लागि स्थानीय सरकारले पहल गरिरहेको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताउनुभयो । ‘जोखिमका बस्ती यकिन गर्दै छौं, सुरक्षित साथ बस्न भनिरहेका छौं’, अध्यक्ष लामाले भन्नुभयो– ‘पीडित, विस्थापितका लागि तत्कालीन र दीर्घकालीन व्यवस्थापनमा हामी लाग्नेछौं ।’