आल्चाको तीनपाने अब व्यवसायिक ब्राण्ड



रामधन राई,खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ वुइपाका स्थाननीयले तीन पाने रक्सीलाई व्यवसायिक रुपमा उत्पादन गरिरहेका छन् । कानूनी अडचानका वावजुद पनि उक्त वडाका स्थानीयले २०७६ सालदेखि नै व्यवसायिक रुपमा आल्चाको तीन पाने रक्सी उत्पादन गरिरहेका हुन् ।

वुइपाका छापगाउँ, फुलेली, गुरुङगाउँ र बुइपाबजार टोलमा उत्पादन हुने आल्चाबाट बोत्तलमा स्टीकर नै राखेर लोकल रक्सी उत्पादन थालिएको हो । वडा कार्यालयको पहलमा गत वर्ष वाइन उत्पादनको प्रयास गरिएकामा यस वर्ष तीन पाने रक्सी उत्पादन सुरु गरिएको वडाध्यक्ष दिनेश राईले बताउनुभयो ।

छापगाउँ महिला वडा समितिले उत्पादन गरेको लोकल रक्सी पञ्चरदोबाटोमा बनाइएको संकलन केन्द्रमा ल्याएर जम्मा गर्ने र मागका आधारमा ग्राहकलाई उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । प्रगती टोल कृषक समुहमा आवद्ध किसानले पनि आल्चाको रक्सी उत्पादन गरिरहेको छ । बुईपामा आल्चाको पुरानो बोटबाटै वार्षिक पाँच टन आल्चा उत्पादन हुने गरेको छ । तर बजार भाउ नपाउँदा खेर गइरहेका आल्चालाई सदुपयोग गर्नका लागि लोकल रक्सी उत्पादन गर्न थालिएको हो ।

वाइन उत्पादनका लागि लाइसेन्स लिन खोज्दा झमेला भएपछि बिनालाइसेन्स नै रक्सी उत्पादनमा लागिएको वडाध्यक्ष राईको भनाई छ । अन्य विदेसी रक्सी खुल्लामखुल्ला बिक्री वितरण हुँदा लोकल रक्सीमाथिको प्रतिवन्ध न्यायिक नभएको वडाध्यक्ष राई सुनाउनुहुन्छ ।

आल्चा अधिक उत्पादन हुने बुइपालाई पकेट क्षेत्रका रुपमा बिकास गर्ने तयारी गरिएको छ । प्रदेश सरकारको सहयोगमा २० हजार बोट आल्चा लगाउने तयारी गरिएको वडाध्यक्ष राईले बताउनुभयो । गत सालबाटै एक घरमा ५० बोट आल्चा लगाउने, सय बोटभन्दा बढि आल्चा लगाए प्रतिबोट सय रुपैयाँ दिने निर्णय नै गरिएको वडा कार्यालयले उल्लेख गरेको छ ।

लोकल रक्सीको प्रवद्र्दन र प्रोत्साहनका लागि कानूनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि किरात राई यायोक्खा खोटाङले साउन १६ गते प्रधानमन्त्रीलाई एक टुक्से रक्सीसहित ज्ञापन–पत्र पठाएका थिए । यस्तै, प्रदेश नम्बर १ को संसदमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा गत असार १५ गते रक्सीलाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने भन्दै प्रदेशसभा सांसद उषाकला राईले आवाज उठाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्