वर्षासँगै जोखिमपूर्ण बन्दै मृत्यु मार्ग


कविराज नेपाल, पाल्पा
त्यसै त जोखिमपूर्ण भएर मृत्यु मार्गको उपमा पाएको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड यो वर्षात्को सुरुआतसँगै झनै जोखिमपूर्ण बनेको छ ।
पटकपटक पहिरो जानु, माथिबाट बारम्बारजसो ढुंगा खस्ने क्रम नरोकिनु र अझ पछिल्लोपटक त सडक नै भासिने गरी सडक क्षतविक्षत हुन थालेपछि जोखिम बढेको हो । केही दिनदेखि परेको अविरल वर्षाका कारण खास गरी सिद्धार्थ राजमार्गको दोभान बजार नजिक सडक भासिएपछि ठूला गाडी सञ्चालनमा अवरोध भएको छ । सडक तिनाउ खोलाको किनारपट्टि करिव ३० मिटर भासिएको छ । झुम्सा, चौबीस माइल क्षेत्रमा पनि सडक भासिएको छ ।
शुक्रबारदेखि नै तिनाउ गाउँपालिकाको दोभान बजार, पानीमिल र झुम्सा नजिक विभिन्न स्थानमा सडक भासिएर सडक नै चिराचिरा परेको छ । यद्यपि भासिएको सडक मर्मत गरी एकतर्फी रुपमा सवारीसाधन त सञ्चालन गरिएका छन् तर पनि जोखिम टरेको छैन बरु झन्झन् बढ्न थालेको छ । यसको पछिल्लो उदाहरण माथिबाट आएको ढुंगा खसेर यात्रुसमेत घाइते भएपछि देखिएको छ । विगतमा यो सडक खण्डमा विभिन्न दुर्घटनामा परेर, ढुंगा खसेर लागेर वा पहिरोका कारणले सयौं व्यक्तिको ज्यान गइसकेको छ भने कैयौंको अङ्गभङ्ग भएको छ ।
आइतबार वर्षात्ले गर्दा सडक अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसहितको टोलीले तानसेनदेखि सिद्धबाबासम्मको स्थलगत अनुगमन गरी सडक तत्काल मर्मत गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी न्यौपानेले तानसेन बुटवल सडक खण्डको ४ स्थानमा पहिरो र ३ स्थानमा सडक भासिएको अवस्था देखिएको बताउनुभयो । उहाँले पहिरो पन्छाउने र भासिएको स्थानमा सडक सुधार गरी तत्काल एकतर्फी रुपमा भए पनि ठूला सवारीसाधन सञ्चालन ल्याउने तयारी भएको जानकारी दिनुभएको छ ।
कालोपत्रे सडकमा प्वाल परेको र सडकसमेत भासिएपछि शनिबारदेखि नै जिल्ला प्रशासन कार्यालयले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सडक कार्यालयका इन्जिनियर शिवु खत्रीले तत्कालै सडकको मर्मत गर्ने र पहिले एकतर्फी रुपमा साना सवारीसाधन पास गर्ने र विस्तारै ठूला र लोड गाडी ट्रायल गरेर चलाएपछि अरु सबै गाडीहरु सञ्चालन गर्न दिने बताउनुभयो । स्थलगत अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका पाल्पाका प्रमुख प्रहरी उपरीक्षक दीपकराज खरेलसमेत सहभागी हुनुहुन्थ्यो ।
सडक भासिएर ठूला सवारीसाधनमा अवरोध आएका कारण गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत र कास्की जाने आउने मालवाहक सवारीसाधनलाई समस्या परेको छ । यी क्षेत्रको भरपर्दाे नभए पनि अर्काे वैकल्पिक मार्ग नभएकाले यी जिल्लाका मानिस यही सडकमा निर्भर छन् ।
वर्षात् लागेपछि यो वर्षको गणना गर्ने हो भने सडक खुलेको भन्दा बन्द भएको समय बढी हुने गरेको यात्रुको गुनासो छ । नयाँनयाँ स्थानमा पहिरो गएकाले सडक बोझिलो बन्दै छ भने सरकारका तर्फबाट कहिले सुरुङमार्ग त कहिले वैकल्पिक बाटोको चर्चा पनि रोकिएको छैन । यसका कारण पाल्पाको विकास पछि परेको अनुभूति पाल्पाबासीले त गरेका छन् नै यो सडक चुनावी नारा बनेको पनि वर्षाैं बितिसकेको छ तर अवस्था पहिले भन्दा राम्रो हुनुको साटो झन्झन् बिग्रँदो छ ।