‘इनफ इज इनफ’का अभियानकर्मीसँग वरिष्ठ नेता पौडेलको भेट

0
Shares

काठमाडौँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानकर्मी ‘ई’ सँग भेट गर्नुभएको छ ।

भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताउँदै सरकारको हेलचेक्र्यााइँ कार्यका विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा आफू र आफ्नो पार्टीको साथ रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमणको पिसीआर परीक्षण दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अनशन बस्दा पनि नसुन्ने सरकार अटेरी सरकार भएको टिप्पणी गर्नुभयो ।

साथै उहाँले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले आवश्यक ध्यान नदिएकोप्रति आपत्तिसमेत जनाउनुभयो । अभियानकर्मी ‘ई’ गत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बस्नुभएको हो । यसअघि उहाँ पहिलो पटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बस्नुभएको थियो ।