पाल्पाका आइसोलेसन खाली हुँदै, पिसिआर मेसिन राख्ने तयारी

0
Shares

कविराज नेपाल, पाल्पा ।

पछिल्लो समय देशभर फेरी कोरोना संक्रमणको सन्त्रास फैलिइरहेका वेला पाल्पा जिल्लामा भने कोरोनाको त्रास क्रमश कम हुदै गएको पाइएको छ ।

कुनै समय पाँच नम्वर प्रदेशमै सवैभन्दा धेरै कोरोना संक्रमित रहेकोमा संक्रमितहरु निको भएर घर फर्किसकेकाले तथा जिल्लामा रहेका क्वारेन्टाइनहरु क्रमशः रित्तिसक्न लागेको, समुदायमा कोरोना फैलिएको पुष्टि नभएको तथा यसको रोकथामका लागि प्रसासनको तर्फबाट पनि कडा निर्देशन र सुरक्षात्मक उपाय पालनामा पनि कडाइ गर्न थालिए पछि कोरोना सन्त्रासलाई आमसमुदायले सहज रुपमा लिन थालेको पाइएको हो ।

पछिल्लो समयमा कोरोनाको चेक जाँचका लागि गरिएको कोरोना परीक्षणमा ११० जनाको रिपोर्ट नेगेटिभ आएको छ । पाल्पाका विभिन्न क्षेत्रमा क्रियाशिल ११८ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ११० जनाको रिपोर्ट नेगेटिभ आएको हो । लकडाउनका समयमा फ्रन्ट लाईनमा खटेका पत्रकार, व्यापारी, बैंकका कर्मचारी तथा सरकारी कर्मचारीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार ११० जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी ८ जनाको रिपोर्ट आउन भने बाँकी छ ।

जिल्लास्थित सिसिएमसीको बैठकले समुदायमा कोरोना फैलिएको बारेमा जाँच गर्न तीन दिनअघि ११८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि भैरहवा पठाएको थियो । अझैँ ८ जनाको रिपोर्ट आएपछि समुदायमा कोरोना फैलिएको वा नफैलिएको बारेमा भन्न सकिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पामा हालसम्म ५६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५५६ जना निको भएर घरमा फर्किसकेका छन् । ४ जना मात्रै आइसोलेसनमा छन् ।

पाल्पाको पूर्वखोलाका एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो । उनलाइ कोरोना पोजेटिभ भेटिएको थियो ।
कोरोना संक्रमित हुने मानिसको संख्या घटेपछि निको भएर घर जानको संख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार माथागढीका ३० जना, रामपुरका ११७ जना, पूर्वखोलाका १५९ जना, रैनादेवी छहराका ३९ जना, रम्भाका ४० जना, बगनासकालीका ४२ जना, तिनाउका ८ जना, रिब्दीकोटका ५ जना, निस्दीका ९९ जना, तानसेनका १४ जना, गुल्मीका २ जना र अर्घाखाँचीका १ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र भीडभाड नगर्न र विद्यालयमा कक्षा संचालन गर्न र जात्रा पर्व जस्ता उत्सव नगर्न कडा निर्देशन दिइसकेको छ । करिव १०० जना मास्क नलगाउनेहरु कार्वाहीमा परिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिसिआर मेसिन राख्ने कार्यको तयारी तिव्र :

उता पाल्पा जिल्लाको तानसेनमा पिसिआर जाँच गर्ने मेसिन राख्ने कार्यको तयारी तिव्र रुपमा भइरहेको छ । मेसिन राख्ने कामको जिम्मा पाल्पा अस्पतालले पाएपछि मेसिन जडान गर्ने स्थानको मर्मत तथा संभारको कार्य पछिल्लो समयमा दु्रत गतिमा भइरहेको पाल्पा अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । पिसिआर मसिन जडान गर्ने ठाउँको मर्मत तथा स्तरवृद्धि र उपयुक्त वातावरण मिलाउने कार्यमा खटिरहेको र अवका केही दिन भित्रैमा मेशीन जडान गरी परीक्षण सुरु गरिने पाण्डेले वताउनु भयो ।
अध्यक्ष पाण्डेका अनुसार साउन मसान्तभित्र सो कार्य सम्पन्न भई पिसिआर जाँच शुरु गर्ने लक्ष्य अनुसार काम भईरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १२ गते पाल्पामा कोरोना भाइरस (कोभिड–१९)को पिसिआर नमूना परीक्षणको लागि अनुमति दिए सँगै पिसिआर मेसिन कहा राख्ने विषयमा छलफल हुदा तत्कालिन जिल्ला विकास समिति, हालको जिल्ला समन्वय समितिको काजीपौवामा रहेको भवनमा सो मेसिन राख्ने निर्णय भएको हो ।

सरकारले पाल्पा अस्पताल मातहतमा रहने गरी परीक्षण गर्ने र मेशीन राख्ने स्विकृत दिए पछि जिल्ला अस्पतालमा त्यहा पर्याप्त जग्गा नभएकाले उपयुक्त जग्गाको विषयमा भएको छलफलबाट जग्गा छनोट समिति गठन गरिएको थियो । पाल्पा जिल्ला अस्पताल व्यवस्थापन समितीका अध्यक्ष नेत्र प्रसाद पाण्डेको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी सदस्य र सदस्य सचिव जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपाने रहनु भएको छ । सो समितिले सिफारिस गरे अनुसार जग्गाको टुङ्गो लागेपछि कामले तिव्रता पाएको हो ।

पाल्पामा पिसिआर मेसिन सञ्चालनमा ल्याइने भए, पाल्पार र छिमेकी जिल्लामा समेत संकलन भएका स्वावहरु परीक्षणमा सहज हुने विश्वास लिइएको छ । अहिलेसम्म कोरोना पुष्टि र परीक्षणका लागि प्रदेश स्थित ल्याव वा अन्यत्र पठाउनु पर्ने वाध्यता रहि आएको छ ।