प्राडा जोशीले लिए उपकुलपतिको सपथ

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीले सपथ लिनुभएको छ । डाक्टर जोशीलाई बागमती प्रदेशका मुख्यमन्त्री तथा कुलपति डोरमणि पौडेलले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभएको हो ।

सपथग्रहण कार्यक्रममा मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेर प्रदेश सरकारले उल्लेखनीय कार्य गरेको दाबी गर्नुृभयो । प्रतिष्ठानको कार्य अब तीव्रगतिमा अघि बढ्ने उहाँले बताउनुभयो ।

बागमती प्रदेश अन्य प्रदेशभन्दा धेरै हिसाबले उत्कृष्ट रहेको र महत्वपुर्ण काम गर्दा प्रदेशका लागि नै गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । हेटौंडा अस्पताल अब ३ सय बेडका हुने जानकारी दिँदै मुख्यमन्त्री पौडेलले प्रदेशका १३ वटै जिल्लामा रहेका अस्पताललाई प्रतिष्ठानमातहत ल्याइने स्पष्ट पार्नुभयो ।

नवनियुक्त उपकुलपति डा. जोशीले प्रतिष्ठानबारे अवधारणापत्र प्रस्तुत गनुृभएको थियो । कार्यक्रममा जोशीले आफुले पाएको जिम्मेवारीअनुसार काम गरेर देखाउने दाबी गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधीवक्ता ओमप्रकाश थपलियाले जननेता मदनकुमार भण्डारीको नाममा स्थापना गरिएको प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गर्ने बताउनुभयो । कार्यक्रममा सहजीकरण गर्दै उहाँले आमनागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय सेवा दिइने बताउनुभयो ।

कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा, नेपाली कांग्रेसका सभापति एवम् प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश प्रमुख सचिव डा. मानबहादुर बिके, प्रदेशसभा सदस्यहरु, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा उपकुलपतिको सपथग्रहण तथा अन्तत्र्रिmया गरिएको थियो । बागमती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा.जोशीलाई प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपतिमा ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उहाँलाई नियुक्ति दिनुभएको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुखसमेत रहनुभएका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधि हासिल गर्नुभएको थियो ।