मास्क नलगाउनेलाई थुृन्न सडकमै ‘हिरासत’


पर्वत, (नेस)
प्रहरीले मानिसलाई नियन्त्रयणमा लिएपछि उसलाई राख्न कार्यालयमा रहेको ‘हिरासत’ मा राख्ने गर्दछ । तर, पर्वत प्रहरीले मास्क नलगाई बजारमा हिँड्नेहरूलाई सडकमै ‘हिरासत’ बनाएर थुन्न थालेको हो ।

झट्ट सुन्दा सडकमै हिरासत कसरी सम्भव भयो भन्ने सबैलाई लाग्न सक्छ तर प्रहरीले फलामका पाइप जोडेर मानिसलाई केहीबेर राख्नका लागि अस्थायी प्रकारको ‘हिरासत’ बनाएको छ ।

चारैतिर बार लगाएर मानिसलाई बीचमा राखेपछि आफू हिरासतमा बसेको अनुभूति होस् भन्ने उद्देश्यले यस्तो विधि अपनाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले बताउनुभयो ।

कम्तीमा मैले गल्ती गरें भनेर सडकमै थुनिएको अनुभूति होस् र आगामी दिनमा गल्ती नगर्न सजग होऊन् भनेर बिहीबार कुस्माको लोकतान्त्रिकचोक र शिवालयचोकबाट मास्क नलगाउने ७२ जनालाई नियन्त्रणमा लिई अस्थायी बारमा राखेर सम्झाई पठाएकोे प्रहरीले जनाएको छ ।