सत्याग्रहीलाई विभिन्न दलको समर्थन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

युवाहरुको समूह ‘इनफ इज इनफ’को दोस्रो चरणको सत्याग्रह शुरु भएको आज १४ दिन पुगेको छ । वसन्तपुरमा आमरण अनशनमा बसेको युवामध्ये एक जनाको अवस्था चिन्ताजनक छ । सरकारले लकडाउन खुला गरेसँगै कोरोना संक्रमणको दर बढ्दो क्रममा छ ।

यस्तो अवस्थामा सबै जिल्लामा पीसीआर मेसिनबाट कोरोना परीक्षण गर्न ती युवा समूहले माग गरिरहेका छन् । उनीहरुले कोरोना परीक्षण गर्न खरिद गरेका मेसिनलगायतका सामग्री खरिद प्रक्रिया पारदर्शी गर्न माग गरेका छन् । ओम्नी ग्रुपले खरिद गरेको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् ।
इनफ इज इनफले राखेको माग जायज होला तर यो राजनीतिबाट प्रेरित छ कि छैन भन्ने विषय सर्वत्र चर्चा बनेको छ । कसैले नेपाली कांग्रेसको उक्साहटमा सत्याग्रह गरेको बताउने गरेका छन् भने कसैले केही राजावादीले आन्दोलनलाई साथ दिएको आरोप लगाएका छन् ।

वास्तवमा यो सत्याग्रह कसले र किन शुरु गरेको भन्ने विषय कसैलाई जानकारी छैन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, साझा पार्टीलगायतले सत्याग्रहलाई साथ दिएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वसन्तपुरमा पुगेर भ्रष्टाचारविरुद्धमा थालिएको अभियानमा साथ रहेको बताउनुभएको थियो । अहिले आमरण अनशन स्थलमा विभिन्न दलका नेता र कार्यकर्ताको भीड बढ्न थालेको छ ।

कोरोनाको महामारी फैलिन शुरु गरेको समयमा सत्याग्रह थाल्दै आमरण अनशन बस्नु ठीक हो कि होइन भन्ने युवामाझमा चासोको विषय बनेको छ । सत्याग्रहले युवामा परिवर्तन गर्नुपर्छ भन्ने विषय उठान गरेको त छ, तर यसको लिड कसले गरिरहेको छ भन्ने विषय अझै खुल्न सकेको छैन । यी युवाले सरकारलाई धक्का दिन सक्छन् कि सक्दैनन् भन्ने विषय हेर्न बाँकी छ ।

इनफ इज इनफले गरेको सत्याग्रहको विषयमा सरकार आबद्ध दलका नेताले यो आन्दोलन राजनीतिबाट प्रेरित भएको आरोप लगाएका छन् भने प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्ष दलले भ्रष्टाचारको दलदलमा फसेको सरकारले अभियानमा जुटेका युवाको माग सम्बोधन गर्न आग्रह गरेका छन् । यसै विषयमा नेपाल समाचारपत्रले विभिन्न दल आबद्ध युवासँग गरेको कुराकानी:

अभियानले सार्थकता पाउन कठिन
रामकुमारी झाक्री
नेकपा सांसद एवं पूर्वअध्यक्ष अनेरास्ववियु

हरेक १० वर्षमा नयाँ पुस्ता आउने त्यो पुस्ताले समाजको दिक्दारीलाई अभियानका रुपमा अघि बढेको देखिएको छ । अहिले केही युवाले शुरु गरेको अभियानले सार्थकता पाउन कठिन हुनेछ । सुनेको भरमा अभियान सञ्चालन गर्नु उचित देखिँदैन । इनफ इज इनफ अभियान चलाएका युवाले उठाएका केही माग जायज छन् । तर, मागको गम्भीर्यतालाई कसरी अघि बढाइएको छ भन्ने विषयमा सोच्नु आवश्यक छ ।

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, पीसीआर परीक्षणलाई देशव्यापी गर्नुपर्नेलगायतका मागप्रति मेरो पनि समर्थन छ । तर, कसैको उक्साहटमा अभियानको नाममा नाराबाजी गर्दै हिँड्नु गलत हो । म त यो भन्न चाहन्छु कि राजनीतिले गाइड गर्न नसकेको अभियानलाई सार्थक पार्न गाह्रो हुन्छ ।

अभियानलाई पूर्णरुपमा गलत भन्न खोजिएको होइन, भ्रष्टाचार भएको छ भने त्यसलाई अनुसन्धान गर्ने निकायले हेर्नुपर्छ । तर, सडकबाट कारबाही गर भनेर अनशन बस्दैमा माग पूरा भइहाल्ने जस्तो हँुदैन । मेरो भनाइ यो छ कि अभियानका विभिन्न चरण र रुप हुन्छन् । तर आमरण अनशन बसेर माग सम्बोधन गराउने संस्कृति बसाल्नु गतल हो ।

सरकारले यो विषयमा के सोच्नुपर्छ भने अभियान चलाएका युवाले व्यवस्था नै फेर्नुपर्छ भनेका छैनन् । त्यसैले सरकारले युवाले उठाएका विषयलाई सम्बोधन गर्नुपर्छ । सरकार र अभियानकर्ताको शैली फरक भएपछि समस्या भएको हो ।

आजको आजै माग पूरा हुन सक्दैन
माधव ढुंगेल
अध्यक्ष राष्ट्रिय युवा परिषद्

इनफ इज इनफ अभियान शुरु गरेका युवाले राखेको माग आजको आजै पूरा हुन सक्दैन । भ्रष्टाचार गरेको हो भने सरकारले नै छानविन गर्नुपर्छ । आमरण अनशन बसेर सरकारलाई गाली गर्दैमा माग पूरा हुन सक्दैन ।
कोभिड–१९ को सामग्री खरिद गरेको र अन्य विषयमा गरेको खर्चको हिसाब सरकारले सार्वजनिक गरिसकेको छ । बाँकी हिसाब भ्रष्टाचाचार भएको विषय छानविनको क्रममा रहेको छ ।
राजनीतिका स्वार्थसँग जोडेर गरिएको आन्दोलनले युवालाई नै असर पार्नेछ ।

आमरण अनशनमा बसेका युवा निर्दोष छन् । उनीहरु कुनै दल कसैको लहलहैमा लागेर अभियान चलाइरहेका छन् । म त यो भन्न चाहन्छु कि यो पश्चिमा राष्ट्रको लगानीमा भएको अभियान हो । यसलाई सरकारले गरेको भ्रष्टाचारको विषयलाई उठान गरेर युवालाई भड्काउन खोजेको देखिएको छ ।

अभियानले उठाएका केही विषय संवेदनशील छन् । सबै जिल्लामा पीसीआर मेसिन पु¥याउनुपर्ने, पीसीआरको परीक्षण बढाउनुपर्नेलगायतमा माग जायज छन् । यस्ता विषयलाई सरकारले व्यवस्थित गर्न सकेको छैन ।
मागको विषयमा एक दिन सम्बोधन गर्नैपर्छ । तर अभियन्ताले उचालेकै भरमा सरकारले सबै माग पूरा गर्नुपर्छ भन्ने छैन । कोरोनाको माहामारी बढ्न थालेको अवस्थामा भीड बढाएर आमरण अनशन बस्नु, विभिन्न स्थानमा पुगेर दबाब दिनु गलत हो ।

अभियानले उठाएको माग जायज
राजीव ढुंगाना
अध्यक्ष, नेपाल विद्यार्थी संघ

हाम्रो पार्टी नेपाली कांग्रेसले इनफ इज इनफ अभियानले उठाएको माग जायज भएको घोषणा गरी ऐक्यबद्धता जनाइसकेको छ । आमरण अनशन बस्दा पनि सरकारले अभियन्ताको माग सुनुवाइ गरेको छैन ।
माग सुनुवाइ नगरे विद्यार्थी संगठनले पनि दबाब दिनुपर्छ । जनताको पक्षमा उठाएका मागलाई गलत भएको र राजनीतिक उक्साहटमा अभियान थालेको हो भन्ने आरोपमा कुनै सत्यता छैन ।

कुनै पनि हालतमा माग सम्बोधन गर्नेपर्छ । आरडीटी परीक्षण नगरी सबै जनतालाई पीसीआर परीक्षण थाल्नैपर्छ । ओम्नी ग्रुपले ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएकै छ ।
तत्काल दोषीमाथि कारबाही गर्नैपर्छ । राज्य बनाउने दायित्व युवाको हो । युवाको काँधमा आएको दायित्वलाई अघि बढाउनैपर्छ । हामीले पूर्ण रुपमा साथ दिएका छौं, अभियान्तालाई निरन्तर सहयोग गर्नेछौं । १३ दिन बितिसक्दा पनि सरकारले मागको विषयमा कुनै पनि सुनुवाइ नगरेका कारण समस्या बढ्दै गएको छ ।
राष्ट्रको पक्षमा लाग्ने युवालाई हाम्रो सधैं साथ रहनेछ । सरकारले माग पूरा गर्नेपर्छ, भष्टाचारीलाई कारबाही गरेपछि मात्र अभियानले सार्थकता पाउनेछ ।

सरकारले जिम्मेवार भूमिका निभाएन
अशोककुमार यादव
युवा नेता एवं केन्द्रीय सदस्य
जनता समाजवादी पाटी

अभियन्ताले शुरु गरेको अभियानको भाव राम्रो छ । देशमा विकृति, विसंगति र भ्रष्टाचार बढेको छ । सरकारले जिम्मेवार भूमिका खेल्न सकेको छैन । सहयोगी भूमिका खेल्नुपर्ने सरकारले भ्रष्टाचारीलाई मलजल गरिरहेको छ ।
कोभिड–१९ को मेडिकल सामग्री किन्दा भएको भ्रष्टाचार छानविन गर्न र हालसम्मको कोरोना संक्रमण र रोकथामका लागि गरिएको खर्च सार्वजनिक गर्न माग गर्दा अभियान र अभियन्तालाई गाली गर्नु सरकारको गलत नियत देखिएको छ ।
विभिन्न काण्ड भएका छन् । ललिता निवासदेखि मेडिकल सामग्री खरिदसम्मको काण्डको तत्काल छानविन हुनुपर्छ ।

अभियानलाई हाम्रो पार्टीको पूर्ण समर्थन छ । अहिलेको विषम परिस्थितिमा प्रत्येक जिल्जाका जनतालाई पीसीआर परीक्षण गराउनुपर्छ भन्नु अभियन्ताको गलत नियत हो र । यस्तो काम गर्न नसक्ने सरकारविरुद्ध अभियानमार्फत आन्दोलन गर्नुको विकल्प देखिँदैन ।

मेरो घर सप्तरी जिल्लाको राजविराज हो, मेरो जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेको छ । जिल्लामा स्थानीय तहमार्फत सबैलाई पीसीआर गर्ने सरकारको कुनै तयारी छैन । भ्रष्टाचारमा लिप्त सरकारको विरुद्धमा अभियन्ताले जुन किसिमको आन्दोलन गरेका छन् । त्यो पूर्ण रुपमा सही छ । तत्काल सरकारले सम्बोधन नगरे आन्दोलनले उग्र रुप लिनेछ ।

१२ बुँदे सहमति पूरा पालना होस्
पुकार बम
अभियान्ता

हाम्रो आन्दोलन अघिल्लो सत्याग्रहपछि सरकारसँग भएको १२ बुँदे सहमति पूरा पालना होस् भन्ने हो । अहिले मुलुक लकडाउन खुला भएको अवस्था छ । यसमा सरकारले यसबाट हुने जोखिमको पूर्वआँकलन नगरी मनपरी ढंगले प्रस्तुत भएको छ ।

अहिलेसम्म पनि सरकारले कोरोना जोखिमको पूर्वतयारी गरेको पाइँदैन । सरकार हामीदेखि पूरै डराइरहेको छ । नागरिक हाम्रो अभियानमा साथ दिइरहेका छन् । हामी स्वतन्त्र ढंगले सरकारले हाम्रा मागहरु पूरा गर भन्दा हामीलाई पटकपटक गैरन्यायिक ढंगले धरपकड गरिरहेका छन् । यसले विधिको शासन, कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतन्त्रको समेत धज्जी उडाइरहेको छ ।

स्वास्थ्यमा ख्याल गरिएन
वृत्तान्त खनाल
अभियान्ता

कोरोनामा सरकार जनता जोगाउनेतिर भन्दा अन्यत्र लागे । भ्रष्टाचारका घटनाहरु लुकाउनतिर लागे । भ्रष्टाचारमा संलग्नलाई संरक्षणतिर लागे । जोखिममा रहेका फ्रन्टलाइनमा खटिएकाको स्वास्थ्यमा ख्याल गरिएन । त्यसकारण सामाजिक सञ्जालमार्फत यो आन्दोल भयो । सडक आन्दोलनदेखि सत्याग्रहलगायतका प्रदर्शन र सरकारसँगको समझदारी कार्यान्वयन नभएपछि त्यो कार्यान्वयन गराउन फेरी हामी सत्याग्रहमा छौँ । हामी निरन्तर लागिरहन्छौँ । युवालगायत देशका नागरिक जगाउने अभियान जारी छ ।

जीवन रक्षाको निम्ति अभियान
आलोक सुवेदी
अभियान्ता

नेपाली जनताको जीवन रक्षाको निम्ति हो । सरकारले कोभिड–१९ रोकथामको सन्दर्भमा गरेको कमजोर व्यवस्थापनलाई लिएर हामीले आफ्नो एजेन्डा अगाडि सारेका हौँ । कोरोना परीक्षणमा हामीले प्रश्न उठाएका छौँ । आरडीटीलाई पूर्णरुपमा रोकेर पीसीआर हुनुपर्छ भनेका छौँ । सय प्रतिशत जोखिममा रहेकाको पीसीआर हुनुपर्छ । जनतालाई उचित रुपमा सुसूचित बनाउनुपर्ने, फ्रन्टमा खटिनेको स्वास्थ्य सुरक्षामा ध्यान देऊ भन्यौँ । तर सरकारले कान थुनिरहेको छ । आशा छ हाम्रो आन्दोलनले छिट्टै सार्थकता पाउँछ ।


परिवर्तनका लागि आन्दोलन
सुजन गुरुङ
अभियान्ता
हाम्रो आन्दोलन परिवर्तनका लागि हो । इनफ इज इनफ कोभिडको कुरा छ । यो भनेको परिवर्तनमध्येको एउटा एजेन्डा मात्रै हो । धेरै कुराहरु हामीले परिवर्तन गर्नुपर्नेछ । यो हाम्रो आन्दोलन अहिले कोभिड केन्द्रित भए पनि यसको लागि मात्रै नभएर परिवर्तनका लागि नै हो । मुलुकको विकास, समृद्धि र भविष्यका लागि हाम्रो आन्दोलन हो ।


सहमति कार्यान्वयन हुनुपर्छ
समुद्र केसी
अभियान्ता

हाम्रो पहिलो अनशनबाट सरकारसँग जुन सहमति भएको छ । त्यो सहमतिको कार्यान्वयन हुनुपर्ने माग नै हाम्रो पहिलो प्राथमिकता हो । पीसीआर, सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्न, स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको मागसहितको अभियान हो । यस्तो स्वतन्त्र र शान्तिपूर्ण आन्दोलनमा राज्यबाट शुरुको दिनदेखि नै दमन गर्दै आएको छ । जसले गर्दा अभियानलाई थप बल मिलेको छ । अभियानमा दिनका दिन जसो नागरिकको समर्थन पाएका छौँ ।

सरकार झुट देखियो
समान्ता गुरुङ
अभियान्ता
मुख्यत सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछिको अवस्था हो । यसलाई यसअघिकै निरन्तर आन्दोलनको रुपमा लिनुपर्छ । यसअघि हामीसँग गरेको सम्झौताको सन्दर्भमा सरकार झुट देखियो । युवाले मुलुक र जनताको लागि स्वतन्त्र ढंगले गरेको आन्दोलननको रुपमा लिनुपर्छ ।