नक्कली सुन अनुसन्धानको जिम्मा महाशाखालाई


काठमाडौं, (नेस)
कमलादी गणेशस्थान नजिकैबाट बरामद गरिएको साढे १४ केजी चाँदी र आधा केजी सुन बरामदको बारेमा अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखालाई जिम्मेवारी दिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको भूमिका शंकास्पद देखिएपछि ती दुवै कार्यालयले छानविन तथा अनुसन्धानको जिम्मा महाशाखालाई दिएको हो ।
बा६च ५५१९ नम्बरको स्कार्पियोमा आएका व्यक्तिले सेतो झोलामा उक्त बस्तु छोडेर भागेपछि प्रहरीले उक्त सवारीसाधन नियन्त्रणमा लिनु भन्दा पनि सामान बरामद गर्न लागेपछि स्कार्पियो भाग्न सफल भएको थियो ।
प्रहरीले शुरुमा १५ किलो सुन बरामद गरेको बताए पनि पछि पत्रकार सम्मेलन गरेर साँढे १४ केजी चाँदी र ५ सय ग्राम सुन भएको बताएको थियो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले उक्त घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘हामी अहिले अनुसन्धान गर्दै छौैं, अपराधीको लगभग पहिचान भएको छ, त्यसको परिमाण केही दिनमा आउला ।’