छिमेकीसँगको सम्बन्ध विकासमा जोड्नुपर्छ :अध्यक्ष तिमिल्सिना

0
Shares

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकीमुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रको विकासमा जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँं वार्षिकोत्सवमा नेपाल–चीन हिमालमैत्री समाज नेपालद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा उहाँले नेपाल र चीनबीच युगौंदेखि सामाजिक एवं सांस्कृतिक रुपमा सम्बन्ध बढेको बताउनुभयो ।

छिमेकीमुलुकसँगको सम्बन्ध विस्तारसँगै त्यहाँका ज्ञान सीपको भरपुर उपयोग गरी समृद्धि र विकासमा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्राकृतिक स्रोत र साधनले नेपाल सम्पन्न भएपछि उचित सदुपयोग गर्न नसक्दा विकसित मुलुकको दाजोमा पुग्न नसकेको उल्लेख गर्दै उहाँले मुलुक र जनताको हितमा लिने सहयोग र गर्ने विकासलाई केन्द्रमा राखेर विदेशी मुलुकबाट आउने आर्थिक सहयोगका लागि एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

सन्तुलित परराष्ट्रनीतिका आधारमा राष्ट्रिय हितलाई केन्द्रमा राखेर विश्वका ठूला मुलुक चीन र भारतले गरेका विकासबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले मुलुकको भौगोलिक अखण्डता र स्वाधिनताका बारेमा राष्ट्रिय एकता अपरिहार्य हुने बताउनुभयो । सुशासन, स्थिरता र शान्तिबिना मुलुकमा विकास र समृद्धिको चाहना पूरा हुन नसक्ने बताउँदै उहाँले आन्तरिक मतभेदभन्दा राष्ट्रिय स्वार्थमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नेपाल–चीन बीचको दौल्य सम्बन्धलाई विकास निर्माणसँग जोडिनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मुलुकको आर्थिक समृद्धिका लागि चीन सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको बताउँदै दुई देशबीच भएका सम्झौतालाई तत्काल कार्यान्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले नेपाल र चीनबीच धार्मिक, सामाजिक एवं सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्दै अबका दिनमा विज्ञान प्रविधि भित्र्याउन पहल गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल–चीन हिमाल मैत्री समाज नेपालका महासचिव राजेन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति महासङ्घका केन्द्रीय अध्यक्ष सीता सुन्दास, प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पाटीका होमबहादुर गुरुङ, समाजका उपाध्यक्ष पेमा लामालागयतले मुलुकको समग्र विकासका लागि छिमेकीमुलुकबाट सिक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष आनन्द पोखरेल, डा कल्याण रोकाहा, कालीप्रसाद पोखरेल, कल्याण शर्मा र जोङ फिछिपाङ्गले छुट्टाछुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गण्डकी प्रदेशबाट शुरु भएको सो कार्यक्रममा प्रदेश अन्तर्गतका प्रतिनिधि एवं प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।