मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा जोशी

0
Shares

न्युज अफ नेपाल,हेटौंडा ।

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राडा विश्वराज जोशी (बीआर जोशी) लाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ ।प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार, वीर अस्पतालमा युरोलोजिष्ट प्रमुखसमेत रहनुभएका जोशीले सन् १९७४ मा एमडी र १९८३ मा डाक्टर उपाधि हासिल गर्नुभएको थियो । उपकुलपति नियुक्तिसँगै प्रतिष्ठान सञ्चालन कार्य अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो काम शुरु गरेको छ । प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति पौडेलले प्रतिष्ठानका काम/कारबाही विधिवत् शुरु भएको जानकारी गराउनुभएको छ । प्रतिष्ठानको पहिलो सभामा उहाँले प्रतिष्ठान प्रदेशवासीको सपना भएको बताउनुभयो ।

उहाँले प्रतिष्ठानको उद्धेश्यप्राप्तिका लागि समर्पित भएर काम गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । उहाँले हेटौंडा अस्पताल प्रतिष्ठानमातहत आएको र प्रदेशमातहत अन्य अस्पताललाई पनि प्रतिष्ठानमार्फत् ल्याइने जानकारी दिनुभयो ।प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले हेटौंडा अस्पताललाई भविष्यमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न एवम् प्रदेशका विद्यार्थीलाई चिकित्सका विज्ञान अध्ययन गर्न निष्पक्षसाथ सुबिधा उपलब्ध गराइने बताउनुभएको छ ।

बैठकले प्रदेश बालअधिकार समितिमा पनि सदस्य नियुक्त गरेको छ । समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मीना थापा र लक्ष्मी ढकाल मनोनीत गरिएका छन् । उनीहरुको कार्यकाल ४ वर्ष हुनेछ । प्रदेश युवा परिषद् नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय पनि गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले जानकारी दिनुभयो । वैदेशिक सहयोगप्राप्ति र कर छुटका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि भएको छ ।