कोरोनाको जोखिममा सिंहदरबारका कर्मचारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले सिंहदरबारमा कार्यरत ५ सय कर्मचारीको कोरोना परिक्षण गर्न लागेको छ । त्यसका लागि बुधबार सिंहदरबार परिसरमा कर्मचारीको नमुना संकलन भइरहेको छ ।

सिंहदरबारका कर्मचारीको दैनिक बाह्य व्यक्तिसित भेटघाट भइरहने भएकाले जोखिम समूहमा राखी कोरोना छ कि छैन भनेर उनीहरूको स्वाब परीक्षण गर्न लागिएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका प्रमुख महेन्द्रध्वज अधिकारीले भन्नुभयो ।‘सिंहदरबारमा दैनिक सेवाग्राहीसित कर्मचारीको सम्पर्क भइरहने भएकाले उनीहरू जोखिम समूहमा परेका हुन्,’ उहाँले भन्नुभयो ।

यसअघि मंगलबार महाबौद्धमा ३ सय जनाको नमुना संकलन गरिएकोे छ । एकै परिवारका ५ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले कन्ट्रयाक्ट ट्रेसिङका क्रममा त्यहाँका ३ सय जनाको कोरोना परीक्षण गर्न लागेको हो ।स्थानीय बजारमा कपडा व्यापार गर्ने पुरुषमा लक्षण देखिएपछि परीक्षणका लागि गत मंगलबार उनी शुक्रराज अस्पताल पुगेका थिए । उनीसँगै परिवारका अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतको बिहार घर भई महाबौद्धमा कपडा पसल सञ्चालन गर्ने भएकाले उनको परिवारबाट संक्रमण धेरैमा फैलिएको आंशका गरिएको हो । त्यसैले उनीहरू सँगै घरभाडामा बस्ने र नजिकका अन्य पसलेको समेत नमुना संकलन गरिएको महाशाखा सर्भिलेन्स शाखाका धनप्रसाद पौडेलले जानकारी दिनुभयो । उनीहरूको बुधबार वा बिहीबारसम्ममा रिपोर्ट आउने शाखाले जनाएको छ ।