वीरगंजमा कोरोना संक्रमित बढेः अस्पतालमा उपचार गर्ने ठाउँ छैन ?


न्यूज अफ नेपाल, काठमाडौ ।
कोरोना संक्रमण बढ्दै जाँदा सरकारले लक डाउन खोल्नुका साथै सार्वजनिक सवारी साधनहरु पनि खुल्ला गरेको छ । तर थ्रोट परिक्षण भने न्यून बनाएकै कारण कोरोना संक्रमितको पहिचान नहुँदा एक व्यक्तिबाट थुप्रै व्यक्तिमा कोरोना संक्रमण फैलिदै छ । यो अवस्थालाई समयमै नियन्त्रण नगर्ने हो भने देश व्यापी रुपमा कोरोनाको महामारी फैलिन सक्ने विज्ञहरुको ठम्याई छ ।

यसै क्रममा पहिला डरलाग्दो रुपमा कोरोना संक्रमण फैलिएको वीरगञ्जमा पहिलाका संक्रमित निको भएर घर फर्किसकेका र अहिले थप नयाँ ३४ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । नारायणी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुधबार मात्र थप ३४ जनामा संक्रमण देखिएको हो ।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार हाल संक्रमण देखिएकाहरुमा २ बर्ष देखि ६५ बर्ष रहेकोछ । संक्रमित मध्ये १० जना महिला र ५ जना बालबालिका रहेका छन् । त्यसैगरी संक्रमित हुनेमा एक नेपाली सेना, तीन प्रहरी र छ कैदीवन्दी समेत रहेका छन् । संक्रमित हुनेमा दुई जना कारागारका कर्मचारी समेत रहेका छन् । डा उपाध्यायले नारायणी अस्पतालकै एक जना चिकित्सकलाई समेत संक्रमण देखिएको बताउनुभयो ।

संक्रमितहरु कोही कन्ट्याक टेसिङबाट र कोही सशुल्क परीक्षण गराउँदा प्रमाणित भएको अस्पतालले जनाएको छ ।

मेडिकल सुपरिटेण्डेन्ट डा उपाध्यायले ५० बेडको कोभिड १९ अस्थायी अस्पतालमा अहिले ६३ जना राखिएको र त्यसमध्ये ५ जना आइसीयूमा रहेको जानकारी दिनुभयो । आइसीयूमा रहेका एक जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

डा उपाध्यायले अस्पतालमा क्षमता नभएपछि पछिल्लो तीन दिन यता कुनै पनि संक्रमितलाई अस्पतालमा राख्न नसकिएको समेत जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ ‘हिजो मात्रै ५२ जना आज ३४ जना गरी ८६ जना त अस्पताल बाहिर नै रहेका छन् । केही दिन देखि कोरोना संक्रमितको संख्या क्रमश बढेको छ ।’