भौतिक दूरी कायम गराउन विशेष अदालतले खटायो सुरक्षाकर्मी


विकास भट्टराई, काठमाडौं

लकडाउनको अवधि समाप्त भएपछि भीडभाड बढ्ने भएका कारण परिसरमा उपस्थित भएकाहरुको भौतिक दूरी कायम भए÷नभएको अनुगमन गर्न विशेष अदालतले सुरक्षाकर्मी तथा कर्मचारी खटाएको छ ।

अदालत परिसरभित्र उपस्थित भएकाहरुको भौतिक दूरी कायम भएको नपाइएमा त्यसको प्रभावकारी कार्यान्वयन गराउन सरसफाइ कर्मचारी र सुरक्षाकर्मीलाई विशेष आदेश भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिनुभयो ।

महामारीको जोखिम बढेका कारण त्यसबाट जोगिन विशेष अदालतले अपनाएको विभिन्न उपायमध्ये सामाजिक दूरी कायम गराउने पनि एक रहेको छ । अन्य कार्यालयमा भीडभाड बढी भए तापनि सामाजिक दूरी कायम गराउनेतर्फ खासै ध्यान दिइएको छैन ।

विशेष अदालतले भने भौतिक दूरी कायम राख्ने योजनाअनुरुप प्रत्येक ब्यक्ति एक अर्कासँग कम्तिमा पनि २ मिटर टाढा रहनुपर्ने उल्लेख गरेको छ । अदालतभित्र हुने छलफल, बैठक तथा सेवा प्रवाहमा पनि एकअर्काबीच २ मिटर रहनु नै पर्ने गरी व्यवस्था गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागबाट आउने कर्मचारीहरुले पनि अनिवार्य रुपमा भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ । उनीहरु कार्यालयभित्र प्रवेश गर्दा पनि पालैपालो गर्नुपर्ने गरी व्यवस्था गरिएको प्रवक्ता पाण्डेले बताउनुभयो ।

प्रवक्ता पाण्डेले भन्नुभयो– ‘इजलासमा प्रवेश गर्ने व्यक्तिले मास्कको प्रयोग गरे नगरेको अनुगमनसम्बन्धी इजलासमा खटिने इजलास अधिकृत, सुरक्षा अधिकृत र कार्यालय सहयोगीले गर्ने र नलगाएको भए अनिवार्य रुपमा लगाउन अनुरोध गर्ने गरी व्यवस्था गरिएको छ ।’

विशेष अदालतमा तारेख लिने र पेशी तोक्नका लागि सेवाग्राहीको भीड हुने भएका कारण केही दिन बिदाको समय र कार्यालय समयभन्दा अघि तथा पछिको समय पनि कार्यालय खुला राख्ने योजना भएको पनि बताइएको छ ।

विशेष अदालतमा न्यायाधीश र कर्मचारीको मात्र सवारीसाधन प्रवेश गराउने गरी व्यवस्था गरिएको छ । कानुन व्यवसायीको सवारीसाधन पनि अदालत परिसर बाहिर नै राख्नुपर्ने भएको छ । यही साउन ८ गतेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन चल्न शुरु गरेका कारण सो मितिदेखि ३० दिनभित्र म्याद, हदम्याद तथा तारेखमा उपस्थित हुनुपर्ने विशेष अदालतले उल्लेख गरेको छ ।

आउँदो भदौ १ गतेबाट हवाई उडान लगाएका सवारीसाधन चल्ने भएका कारण अन्य जिल्लाका सेवाग्राहीलाई भने सो मितिदेखि ३० दिन भित्र म्याद, हदम्याद तथा तारेख लिने समय लागू हुने सो अदालतले जनाएको छ ।