एकल महिलाको कथा: न रह्यो बास न रह्यो गास


कृष्णउदास खनाल, हेटौंडा

हेटौंडा उपमहानगरपालिका–८ ओमनगर अनि त्यही स्थानमा रहेको नगर बिस्तारको जमिन । भूमिहीनका लागि हुनुपर्ने सो जग्गामा पछिल्ला दिनमा हुनेखानेहरुकै बोलवाल बढ्न थालेको छ । तर आजभन्दा १५ वर्ष अगाडि शुरुमा एक्लै बसेकी लक्ष्मी घिमिरेलाई अहिले छिमेकीहरु पाएसम्म खेद्न खोज्छन् । बारघरको नाउले परिचित सो बस्तीको पहिलो व्यक्ति नै लक्ष्मी हुन् तर आज छिमेकीकै साथ लक्ष्मीलाई छैन बरु उनलाई त्यो बस्तीबाट लखेट्न पाए आफ्नो मान्छेलाई त्यही स्थानमा राख्न पाइन्थ्यो भन्ने स्वार्थमा धेरै भए पनि लक्ष्मी संघर्ष गरेर अगाडि बढिरहेकी छन् ।

२०२८ सालमा ओखलढुंगामा जन्मिएकी लक्ष्मीको जीवन कुनै चलचित्रको कथाजस्तो छ । एक भाइ र उनको परिवारका सन्तानका रुपमा उनको आमाको कोखबाट जन्म लिएका थिए तर दैवको लीला बुबाको सानै उमेरमा निधन भयो । बुबाको निधनपछि आमाले भाइ र उनलाई हुर्काउनुपर्ने जिम्मेवारी थपियो । आमाले बनिबुतो गरेर हुर्काएको तिनै सन्तानमध्ये छोराको हत्या भयो अथवा लक्ष्मीको भाइको हत्या भयो । छोरा गुमाउनुपर्दाको पीडा अनि हत्याराहरुलाई उन्मुक्ति एक आमाका लागि त्योभन्दा दर्दनाक पीडा अरु के हेला र ? छोरा त गुम्यो छोरीको मुख हेरेर लक्ष्मीको आमाले जीवन जिउँदै थिइन् ।

लक्ष्मीले पढ्न पाइनन् । अक्षरसम्म चिन्न सक्छिन् । उमेर बढ्दै गएपछि हरेक आमाबुबालाई छोराको भन्दा बढी चिन्ता छोरीको हुन्छ । लक्ष्मीको आमालाई पनि विवाहको चिन्ता भयो । आमा र मामाले गाउँ नजिकैका ४० वर्षीय पदम घिमिरेलाई देखे । पद्मले आफ्नो जेठी श्रीमतीलाई छोरो नभएका कारण कान्छी बनाएर लक्ष्मीलाई भित्राउन चाहेको बरु त्यसको बदलामा आमा र मामालाई लैनो भैंसी दिन तयार भए ।

गरिबीको भूमरीमा रुमल्लिएका आमा र मामाले १६ वर्षको कलिलै उमेरमा ४० वर्षका पद्मलाई लक्ष्मी दिन तयार भए त्यो पनि सौतामाथि । लक्ष्मीले लाखौं बिन्ती गरिन् । विवाह अस्वीकार गर्ने धेरै उपाय निकालिन् तर आमा र मामाले सुनेनन्, अन्ततः छोरा पाउने मेसिनका रुपमा पद्मको घरमा दोस्रो श्रीमतीका रुपमा लक्ष्मी भित्रिइन् ।

छोरी पनि अर्काको घर गएपछि लक्ष्मीको आमा घर छाडेर काठमाडौंको मन्दिरमा बस्न थालिन् । अनि तिनैको पछि लागेर लक्ष्मीको परिवार पनि काठमाडौं गयो । आज भन्दा भोलि भन्दै लक्ष्मीको कोखबाट तीन छोरी र एक छोरा जन्मिए । तर, श्रीमान् २०६१ सालतिर बिमार भए अनि काठमाडौं वीर अस्पतालमा उनको पतिले अन्तिम सास फेरे ।

पतिले आफूलाई छाडेर गएपछि लक्ष्मी एक्लै भइन् साथमा थिए आफूले जन्माएका तीन सन्तान । आफ्नो मुटुको टुक्रा तीन छोरीहरुलाई काठमाडौंको एक संस्थालाई जिम्मा लगाएर ६ महिनाको छोरो च्यापेर लक्ष्मी हेटौंडातिर हानिइन्, अनि शुरु भयो उनको अर्को कथा । हेटौंडा आएपछि छोराको खुसीका लागि कडा मेहनेताको काम गरिन् । ढुंगा बोकिन्, बालुवा बोकिन्, अरुको घरमा भाँडा माझिन् ।

समाजमा उनीमाथि कुदृष्टि लगाउनेको त सीमा नै भएन । काठमाडौंमा छाडेका आफ्नो छोरीको यादले पटकपटक उनको मुटु भासियो । प्रन्ध वर्ष अघि मात्रै नगर विकासको हेटौंडा–८ स्थित स्थानमा सानो छाप्रो बनाएर उनी बस्न थालिन् । बिस्तारै अरु पनि बस्न थाले त्यहाँ । उनी गरिब र एकल भएका कारण हेंला गर्नेहरु बढे । २०७२ सालमा भूकम्प गयो, घर बस्नलायक भएन तैपनि छोरालाई काखीमा राखेर उनी कैयौं रात रुझेर सुतिन् ।

धेरै ठूलो प्रयासपछि बल्ल स्थानीय सरकारले भूमिहीन भनेर सिफारिस गरिदिएपछि भूकम्पको राहत पाइन् ५० हजार । अनि भएको छाप्रो भत्काएर घरको जग हालिन्, घर बनाउने अरु उपाय उनीसँग थिएन । एक जना छिमेकीको आश्रयमा आमाछोरा छन् । अझै २ लाख ५० हजार त आउँछ तर दुईकोठे घर बनाएर छोरालाई ओत लगाएर आफू पनि ओतमा बस्ने लक्ष्मीको सपनामाथि कालो बादल लागिरहेको छ । कसैले अरु तीन लाखसम्म सहयोग गरिदिए आफ्नो सपना पूरा हुने आशमा लक्ष्मी छन् ।

यो पत्रकार उनीसँग कुरा गर्दा भावुक हुँदै भगवान्ले हजुरलाई पठाइदिनुभयो अब घर बनाइने पनि कोही भगवान् भएर नै आउनुहोला भन्ने आशमा लक्ष्मी छन् । छिमेकीको एक बन्द कोठाभित्र बसेर लक्ष्मीका आमाछोराले दुई कोठाको घरको सपना देखेका छन्, मन र धन भएकाहरुको दृष्टि परेको खण्डमा मात्रै त्यो सपना साकार हुनेछ ।