आफ्नै भवन बनाउँदै काठमाडौं महानगरपालिका


नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नै जग्गामा नयाँ भवन बनाउने भएको छ । टेकुस्थित वातावरण व्यवस्थापन विभागमा रहेको करिब ६ रोपनी जग्गामा निर्माण हुन लागेको आठ तले भवन दुई वर्षभित्र तयार हुने बताइएको छ ।

कार्यालय भवनसँगै करिब ७ रोपनी क्षेत्रफलमा पार्किङ भवन निर्माण गर्न लागेको हो । मेयर विद्यासुन्दर शाक्यकै कार्यकालमा तयार हुनेगरी भवन निर्माण गर्न लागेको जनाइएको छ ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा भवनमा कामपाको सबै कार्यालय सर्ने भने पनि घर खाली गराउने विषयमा विवाद भएपछि कामपाले आफ्नै स्वामित्वको जग्गामा भवन बनाउने तयारी गरेको हो ।

कामपा शहरी पूर्वाधार विकास विभाग प्रमुख रामबहादुर थापाले यस वर्षको मंसिरमा शिलान्यास गर्नेगरी नक्सा निर्माण प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

‘दुई भवनका लागि करिब एक अर्बभन्दा बढी बजेट व्यवस्थापन गरिएको छ । त्यसमध्ये मुख्य भवन करिब ६० करोड रुपियाँ लागतमा बन्नेछ भने करिब ५० करोडको स्टिल स्ट्रक्चर पार्किङ भवन बन्नेछ’, उहाँले भन्नुभयो ।

टेकुको महानगर प्रहरी बसेको जग्गामा ६ तले पार्किङ भवन बन्न लागेको हो । कामपाले आधुनिक पार्किङ भवन निर्माण गर्ने विषयमा विभिन्न निकायसँंग छलफल गरिरहेको छ । शहरी योजना आयोगले भवनको नक्सा निर्माण गर्न परामर्शदाता नियुक्ति प्रक्रिया गरिरहेको छ ।

आयोग सचिवालय प्रमुख रविनमान श्रेष्ठले साउनभित्र मुख्यालय र पार्किङ भवन निर्माणका लागि पराशर्मदाता छनोटको सूचना जारी गर्ने जानकारी दिनुभयो ।

केही महिनाभित्र परामर्शदाता छनोट गरेलगत्तै भवन निर्माणको टेन्डर निकालिनेछ । उहाँका अनुसार दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया शुरू भइरहेको छ । शहरी पूर्वाधार विकास विभागका विभागीय प्रमुख थापाले आफ्नै भवन नभएका कारण सेवा दिन समस्या भएको बताउनुभयो ।

महानगरले भवन निर्माण गरेपछि सबै विभाग, महाशखा, शाखा र विभिन्न कार्यालय एउटै भवनमा रहनेछन् । भूकम्पले क्षतिग्रस्त बागदरबार कामपाले नामकरण गरेको (हरिभवन) मा नयाँ भवन बनाउन खोज्दा पुरातत्व विभागले रोक लगाएपछि सो स्थानमा आफ्नो भवन बनाउने प्रक्रियामा पूर्णविराम लागेको थियो ।

एउटै भवनबाट सेवा दिनेगरी साउन महिनादेखि नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने तयारी गरे पनि ठेक्का लिने कम्पनीको विरोधको कारण सो भवनमा कामका मुख्यालय सर्ने अनिश्चित भएको छ ।