भारी वर्षाको सम्भावना


नेपाल समाचारपत्र, काठमाडौं ।

आज सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने देखिएकाले पुनः वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

सोमबार रातिबाट नेपालमा मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव एक डिग्री र अधिकतम तापक्रम २ं८ दशमलव १ डिग्री सेल्सियस रहेको छ ।

आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव शून्य डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव ३ डिग्री सेल्सियस रहेको छ ।