पूर्व डीआइजी कोइराला विरुद्धको मुद्दा पुनरवलोकन हुने


विकास भट्टराई, काठमाडौं ।

पत्नी–हत्या गरेको आरोप लागेका सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइरालालाई मुलुकी ऐनको अदालती बन्दोबस्तको १८८ नम्बर प्रयोग गरी सजाय घटाउने फैसलाको सर्वोच्च अदालतले पुनरवलोकन गर्ने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले आइतबार सो फैसलाको पुनरवलोकन गर्नको लागि अनुमति दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गत असारको तेस्रो सातामा कोइरालालाई लागेको जन्मकैदलाई १८८ नम्बर प्रयोग गरी ८ वर्ष ६ महिना मात्र कैद गर्ने फैसला गरेको थियो । जिल्ला अदालत तथा तत्कालीन पुनरावेदन अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैद गरेको थियो । सर्वोच्चले कोइरालाको अपराधअनुसार जन्मकैद हुने ठहर गरेको भएपनि १८८ नम्बर प्रयोग गरी ८ वर्ष ६ महिना मात्र हुने गरी घटाइदिएको थियो ।

१८८ नम्बरमा कुनै घटना भवितव्य हो भन्ने न्यायाधीशको चित्तमा लागेमा लागेको कैदलाई घटाइदिनसक्ने प्रावधान रहेको छ । डीआइजी कोइरालाको मुद्दामा प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको इजलासले आफ्नी पत्नीलाई भवितव्यमा परी हत्या गरेको उल्लेख गरी १८८ नम्बर प्रयोग गरेको हो । सो फैसला गलत भएको दावी गरी महान्यायाधिवक्ताको कार्यालयले चार दिनअघि पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो ।

निवेदन माथिको सुनुवाइपछि आइतबार सर्वोच्चको पूर्ण इजलासले सजायँ घटाउने गरी भएको संयुक्त इजलासको फैसला विभिन्न नजिरको कारणबाट हाललाई नमिलेको उल्लेख गर्दै पुनरवलोकनको लागि अनुमति दिएको छ । सो अनुमतिसँगै अब सरकारी पक्ष र कोइरालाका पक्षबीच पुनः सर्वोच्चमा छलफल हुनेछ ।

पुनरवलोकनको अनुमति भएको जानकारी कोइरालाको घर ठेगानामा सर्वोच्चले पठाउने छ । सो जानकारीको निश्चित समयमा कोइरालाले आफ्नो प्रतिनिधि सर्वोच्चमा पठाई बहस गर्नुपर्नेछ ।

सर्वोच्चको अनुमति भएको आदेशमा प्रतिवादी रञ्जन कोइरालाले घटना हुँदा र घटना भएपछि लाश लुकाउन गरेको क्रियाकलापबाट घटित वारदातलाई सामान्य अवस्थाको वारदात भन्न मिल्ने वा भवितव्य हो कि भनी मान्न मिल्ने अवस्था समेत नदेखिएको उल्लेख गरिएको छ । आदेशमा यस्तो उल्लेख भएपनि कोइराला उपर आरोपित कसूर कायम भई सजायसमेत ठहर भएकोमा विवाद नदेखिएको जनाइएको छ । सर्वोच्चको संयुक्त इजलासले २० वर्ष कैद गरेको थियो ।

कोइरालाले झण्डै ९ वर्ष अघि आफ्नी पत्नी गीता ढकाललाई घरायसी खटपट हुँदा भित्तामा टाउको ठोक्काएर मारेको आरोप लगाइएको छ । त्यसपछि अपराध लुकाउन लाशलाई मकवानपुर जिल्लामा लगेर जलाएको कोइरालामाथि आरोप छ ।