रेडक्रसद्वारा राहत वितरण, ५ सय ४३ घरमा क्षति


न्युज अफ नेपाल, धादिङ ।

सिद्धलेक र गजुरी गाउँपालिका का पहिरोपीडितलाई नेपाल रेडक्रस सोसाइटी धादिङले राहत वितरण गरेको छ ।

सिद्धलेक गाउँपालिका वडा नम्बर ७ भैसे, भालडाँडा, हात्तीसुँडा, चामडाडा लगायतका स्थानमा अविरल वर्षाका कारण पहिरोले घर क्षतिग्रस्त भएका ५३ परिवारलाई राहत वितरण गरिएको हो ।

गैर खाद्य सामाग्री अन्तरगत भाडाकुँडा, लगाउने कपडा, त्रिपाल आदि सामाग्री रहेको नेपाल रेडक्रस सोसाइटीका मन्त्री दुर्लभकुमार तामाङले बताउनुभएको छ ।

सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा अधिकारी, वडा अध्यक्ष लक्ष्मण खतिवडा, नेपाल रेडक्रास सोसाइटी धादिङका सभापति नाराणकुमार तिमल्सीना लगायतले राहत सामाग्री वितरण गर्नुभएको थियो । यसैगरि गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीका ७ परिवार, गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुका १५ परिवारलाई राहत वितरण गरिएको छ ।

नेपाल रेडक्रास सोसाइटी धादिङले एक साताको विचमा १ सय १४ परिवारलाई राहत सामाग्री वितरण गरेको छ भने १ सय १५ परिवारलाई त्रिपाल सहयोग उपलब्ध गराएको छ ।

बाढी पहिरोका कारण एक साताको विचमा धादिङ जिल्ला भर ५ सय ४३ परिवारको घर क्षति पुगेकोले राहत दिन माग भएको नेपाल रेडक्रस सोसाइटी धादिङले जनाएको छ ।

सिद्धलेक गाउँपालिकामा १ सय १ परिवार, गजुरी गाउँपालिकामा १ सय ६१ परिवार, बेनिघाटरोराङ गाउँपालिकामा ५५ परिवार, त्रिपुरासुन्दरी गाउँपालिकामा ६० परिवार, नीलकण्ठ नगरपालिकामा १ सय १ परिवार र जिल्लाका अन्य भागबाट समेत मानिसहरु पहिरोका कारण विस्थापित भएको सूचना आएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति नारायण कुमार तिमल्सीनाले बताउनुभएको छ । यस वर्षको बाढी पहिरोका कारण जिल्लाको राजमार्ग क्षेत्र र मध्य धादिङ सबभन्दा धेरै प्रभावित भएको छ । जिल्लामा क्षतिको यकिन तथ्यांक आइ सकेको छैन ।