भनाइ र गराइ फरक

सामुदायिक कार्यालयको नाममा कभर्ड हल


यमलाल भुसाल, बुटवल ।

कपिलवस्तुस्थित बुद्धभूमि नगरपालिका–१ को राजकुडा सामुदायिक वनभित्र वन उपभोक्ता समितिको कार्यालय बनाउने भनी जिल्ला वन कार्यालयबाट स्वीकृति लिएर कभर्ड हल बनाइँदै गरेको पाइएको छ ।

स्थानीयको माग र आवश्यकताविपरीत नगरपालिका, वडा र सामुदायिक वनबाट गत दुई आर्थिक वर्षमा गरी लाखौं रुपियाँ बजेटमा कभर्ड हल बनाइएको भन्दै स्थानीयले आक्रोशसमेत पोखेका छन् । वडामा सिँचाइ कुलो, सडक ग्राभेल जस्ता प्राथमिक आवश्यकता हुँदाहुँदै कभर्ड हलमा ठूलो बजेट पारेर राज्य कोषको दुरुपयोग गरिएको स्थानीय गौरीकान्त बन्जाडेले बताउनुभयो । कभर्ड हललाई बहुउद्देश्यीय सामुदायिक भवन भनेर बजेट पार्ने गरिएको उहाँको दबी छ ।

यस्तै राजकुडा वनभित्रै बनाइएको सुपा देउराली मन्दिरमा समेत हरेक वर्ष बजेट विनियोजन हुँदै आएकोमा पनि स्थानीयले विरोध जनाएका छन् । गाउँलेको माग र प्राथमिकताविपरीत बजेट गाउँपालिकाको रुचिका योजनामा मनोमानी खर्च हुने गरेको स्थानीयको आरोप छ ।

‘सामुदायिक वनको कार्यक्रमका लागि भवन बनाउन स्वीकृति दिइएको हो, खेलकुद गतिविधिसमेत गर्ने गरी कभर्ड हल बनाउन पाइँदैन’, जिल्ला वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले भन्नुभयो– ‘स्थानीयबाट निवेदन आएपछि छानविन गर्छौं ।’

वडाध्यक्ष तेजबहादुर बस्नेतले वडावासीका लागि खेल गतिविधि सञ्चालन गर्न कभर्ड पनि आवश्यक पर्ने भएकाले वहुउद्देश्यीय सभाहलको स्वीकृति लिएर ३० लाख रुपियाँमा ठेक्का सम्झौता भएको बताउनुभयो । कभर्ड हलमा वन उपभोक्ताको कार्यालयसहितका संरचना बनाइने र अहिलेसम्म मन्दिरका नाममा बजेट दुरुपयोग नभएको उहाँको कथन छ ।