पार्टी फुट्ने पक्का भो,केही गर्छन् भन्ने आशा थियो भ्रम रहेछ : मुख्यमन्त्री पोखरेल

0
Shares

यमलाल भुसाल,बुटवल । 

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि नेपालको नयाँ नक्सा आफूले छापेको कसरी भन्न सकेको भन्दै प्रश्न उठाउनु भएको छ ।

आफू प्रधानमन्त्री हुंदा नक्साको कुरा थाहा नपाउनेले अहिले प्रधानमन्त्री केपी ओलीले नभई आफूले छापेको भन्न कसरी सकेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रचण्डमाथि प्रश्न उठाउनु भएको छ ।

नेकपा स्थायी समिति सदस्य र प्रदेश ५ का इन्चार्ज समेत रहनु भएका पोखरेलले शनिबार बिहानै फेसबुकमा स्टाटस लेख्दै कालापानी क्षेत्रको सीमा विवाद पुरानै भएको तर प्रचण्ड प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाएको उल्लेख गर्नु भएको छ् ।

नेपालको नयाँं नक्सा प्रधानमन्त्री ओलीका कारण छापिएको तर प्रचण्डले ओलीले नभई आफूले हो भन्न कसरी सकेको भन्दै पोखरलले स्टाटसमार्फत आश्चर्य भाव व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री पोखरेलले प्रचण्ड र ओलीको नाम नलिई स्टाटस लेखेपनि शुक्रबार प्रचण्डले काठमाडौंमा गरेको भाषणको प्रत्युत्तरमा पोखरेलले उक्त स्टाटस लेखेको सहजै बुझ्न सकिन्छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय पार्टीले गरेको बताउनु भएको थियो । भारतले नोभेम्बरमा नेपाली भूभाग समेटेर नक्सा जारी गरेपछि मंसिरमा बसेको स्थायी कमिटी र माघमा बसेको केन्द्रीय कमिटी बैठकले नेपालले पनि नक्सा जारी गर्नुपर्छ भनेको तर सरकारले नक्साभन्दा पनि भूमि नै फिर्ता गर्नुपर्छ भनेको उहाँले बताउनु भएको थियो ।

सरकारले नक्सा जारी गर्ने तयारी नगरेपछि नीति तथा कार्यक्रम ल्याउने दिन बसेको स्थायी कमिटी बैठकमा नेताहरूले नक्सा प्रकाशित गर्नुपर्छ भनेपछि बल्ल प्रधानमन्त्री पनि सहमत भएको बताएका थिए ।

पार्टीको निर्णयलाई व्यक्तिको खल्तीमा हाल्ने प्रयास इमान्दार नभएको भन्दै प्रचण्डले ‘निर्णय गराउनेलाई दलाल र जसले ढिला ग¥यो उसकै देवत्वकरण हुन नसक्ने बताएका थिए । मुख्यमन्त्री पोखरेलको स्टाटस प्रचण्डको यही अभिव्यक्तिप्रति लक्षितरहेको छ ।

मुख्यमन्त्रीको स्टाटसपछि खासगरी नेकपाका तल्लो तहका कार्यकर्ताहरुबाट पक्ष र विपक्षमा तीब्र प्रतिक्रियाहरु आएका छन् । कतिपयले नेकपाका नेताहरुको अभिव्यक्तिले पार्टी फुट्ने पक्का भएको प्रतिक्रिया दिएका छन् ।

कतिपयले मुख्यमन्त्री पोखरेलले ओलीलाई उचाल्ने र उक्साउने मुख्य पात्रका रुपमा आरोप लगाएका छन् । केहीले मुख्यमन्त्रीसंग केही आशा थियो भ्रम रहेछ भनेका छन् भने केहीले मुख्यमन्त्रीलाई बिर्सने रोग लागेछ भन्दै ओली पनि यसअघि प्रधानमन्त्री भएका तर त्यति बेला नक्सा किन नछापेको भन्ने प्रश्न गरेका छन् । कतिपयलाई मुख्यमन्त्रीको अभिव्यक्तिलाई झगडाको बिउ,केहीले निम्न पुंजीवादी चिन्तन भनेर आलोचना गरेका छन् ।

https://www.facebook.com/shankar.pokhrel.946?fref=nf&__tn__=%2Cdm-R-R&eid=ARBLsGkLi7a2Q2CU34yf0M8o3cQ05xvt2nIhwqoYvzIl-02ixuah8bzVu3ZKPfax_8P3NmMmK5_Etun7