काभ्रे पुगेर पूर्व एमालेका नेताहरुले दिए प्रचण्ड र माधव नेपाललाई चेतावनी

‘३२ र १५ वर्ष पार्टी नेतृत्वमा हुँदा के गर्नु भयो ?’ : प्रदीप ज्ञवाली

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले ३२ र १५ वर्ष पार्टीको नेतृत्वमा रहँदा गर्न नसकेको काम दुई वर्षमा हुन नसक्ने भएकाले नेतृत्व परिवर्तन र प्रधानमन्त्री पदका लागि महाधिबेशन र निर्वाचन पर्खन अनुरोध गर्नु भएको छ ।

ज्ञवालीसँगै केन्द्रिय सदस्यद्धय एवं पुर्व मन्त्रीहरु आनन्द पोखरेल र गोकुल बास्कोटाले समेत अध्यक्ष प्रचण्ड र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिदै मुलुक अस्थिरता तर्फ धकेलिन थालेको बताउनु भयो ।

‘३२ र १५ वर्ष पार्टी नेतृत्वमा हुँदा के गर्नु भयो ?’–प्रदीप ज्ञवाली
‘महामारीमा जुध्ने बेला पद लोलुपता छाड्नुस’–आनन्द पोखरेल
‘पदका लागि पार्टी फुटाउने धृष्टता बन्द गर्नुस’– गोकुल बास्कोटा

मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले सरकारको नेतृत्व छाड्नु पर्ने गरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरता तर्फ नलैजान अध्यक्ष पुष्पकमल दाहाल, पुर्व महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल सहितका नेताहरुलाई अनुरोध गर्नु भयो ।

नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनु पर्ने हो कि ? अरु कुनै अपराध ग¥यो ? मन्त्री ज्ञवालीले भन्नुभयो–‘नक्सा जारी गर्न रहर भएकाहरुले यस अघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’

कोरोना भन्दा देशको चिन्ता गर्नु पर्ने समयमा नेताहरुले जनतालाई निराश पार्ने गरी गरिरहेको विवादको अर्थ नभएको बताउँदै महाधिबेशनको विकल्प नभएको ज्ञवालीले बताउनु भयो । ‘केपी ओलीलाई हटाउने भनेको महाधिबेशन र अर्काे निर्वाचन मात्रै हो’–मन्त्री ज्ञवालीले भन्नु भयो–‘बहुमतबाट हटाउने सपना नदेख्नुस त्यस्तो हुँदा एकता रहँदैन ।’

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको नाम नलिइकन उनले २ वर्षपछि दुई तिहाई आउने यकिन नभएकोले यही बेला पालैपालो बनौं भन्ने केहीलाई लागेको हुन सक्ने मन्त्री ज्ञवालीले बताउनु भयो ।

सरकारले अपेक्षाकृत काम गर्न नसकेको तर्क गर्दै उनले पार्टी र कर्मचारीबाट सहयोग नभएको मन्त्री ज्ञवालीको आरोप थियो । ‘प्रतिपक्ष भन्दा चर्को विरोध संसदमा कसले गर्छ देख्नुभएकै छ’– उहाँले भन्नुभयो– ‘सबैको साथ हुने हो भने ५ नम्बर गियरमा सरकार चल्यो, अहिले ३ नम्बर गियरमा चलेको छ । नेकपाका दोस्रो पुस्ताका नेताहरु पनि ६० वर्ष नाघेका तर्क गर्दै पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ ।’

कार्यक्रममा नेकपा नेता एवं पुर्व मन्त्री आनन्द पोखरेलले पार्टी भित्र देखिएको विवाद कुनै विचारको नभई पदका लागि भएकाले जनता र कार्यकर्तालाई निराश नपार्न नेताहरुलाई अनुरोध गर्नु भयो । महामारीमा जुध्ने बेला नेताहरुको पद लोलुपताले कम्युनिष्ट पार्टी आन्दोलन प्रति नै वितृष्णा जगाएको उहाँले बताउनु भयो ।

केन्द्रिय सदस्य एवं पुर्व मन्त्री तथा नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिनुभयो । ‘२६ महिनामा ६ पटक राजिनामा माग्ने ?, कार्यकर्ताहरुलाई राजनीतिक बन्दि बनाएर आफु पदका लागि लड्ने ?’–नेता बास्कोटाले भन्नु भयो–‘नेकपाको चालक दलको सिट फेरिदैन, चालक बदल्ने रहर हुनेहरुले महाधिबेशन सम्म कुर्ने हिम्मत गर्नु पर्छ ।’

पार्टी फुटाउन खोज्नेहरु सिमा नाका कटेर आउने सपना नदेख्न चेतावनी दिदै नेता बास्कोटाले सहमति, सहकार्य, सह अस्तित्व, सुदृढ एकता, सुस्पष्ट एकता र हार्दिकता सहितको एकता नभए सँगै जान नसकिने बताउनु भयो ।

‘पार्टी नेतृत्व कमन्डलु बोक्ने कि ? कमान्डर बन्ने ?’– नेता बास्कोटाले भन्नुभयो–‘पार्टी सिध्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने ? म चेतावनी दिन चाहन्छु पार्टी भत्काउने भए किन बनाएको ?’

नेता बाँस्कोटाले छोराछोरी जन्माएपछि हुर्काउने दायित्व हुुने भन्दै हत्या गर्ने अधिकार नभएको बताउँदै छोराछोरीको हत्या गरिए सजाँए भोग्न तयार हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेकपा नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नेताहरु गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, फाउण्डेशनका सचिव कुमार तिमल्सिना, विद्यार्थी नेता जेनिश लामा लगायतले पार्टी एकताका लागि खवरदारी गरेका थिए ।

भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ । नेता राकेश लामाको अध्यक्षतामा मदन भण्डारी स्पोर्ट एकेडेमी गठन भएको छ ।

गेटमै माक्स र थर्मल गन

कार्यकर्ताहरुको बाक्लो उपस्थिती भए सँगै पार्टी निकट स्वास्थ्यकर्मीहरुको टोलीले माक्स नभएका कार्यकर्ताहरुलाई माक्स उपलब्ध गराएको थियो भने थर्मल गन मार्फत ज्वरो नाप गरेर मात्रै हल भित्र पठाएका थिए ।

नेताहरुलाई मञ्चमा स्यानिटाईजरको प्रयोग गराईएको थियो । मन्त्री प्रदिप ज्ञवालीले सरकारकै निर्णयको खिलापमा सहभागि हुनु परेकोमा क्षमा माग्दै आवश्यकता अनुसार उपस्थिती भएको बताउनु भएको थियो ।