वन्यजन्तु संरक्षणमा हाम्रो दायित्व



विश्वमा वन्यजन्तुको अवैध सिकार र यसको व्यापार कहाली लाग्दो छ । एक आङ्कलनअनुसार बाल्कन क्षेत्र (अल्बानिया, बोस्निया हर्जगोभिना, बुल्गेरिया, ग्रीस, रोमानिया, सर्भिया आदि देशबाट मात्र पछिल्लो समयमा करोडौं चराहरुको अवैध सिकार गरी अल्जेरिया, इजिप्ट, साइप्रस, इजरायल, लेबनान, फ्रान्स, इटाली, स्पेन, टर्की आदि देशमा लगिएको छ, जहाँ केही चरा उपभोग गरिन्छ भने बाँकी होटेल–रेस्टुरेन्टहरुमा बिक्री गरिन्छ ।
इटालियन भन्सारले केही समयअगाडि एउटा ठूलो ट्रकको खानतलासी गर्दा सर्वियाबाट मारेर ल्याइएका एक लाख मृतचरा बरामद गरेबाट समेत यो कुराको पुष्टि हुन्छ । आफ्ना घरपालुवा जनावरलाई नोक्सानी पु¥याएको बदलामा मरेको सिनोमा विष मिसाई सिंह र हायनालाई मार्ने कार्यका कारण अनाहकमा अफ्रिकामा गिद्धको संख्या लोप हुने अवस्थामा पुगेको छ ।
यसले गर्दा अफ्रिकाले आफ्ना महत्वपूर्ण वन्यजन्तु र प्रकृतिलाई नष्ट गर्दै गएको छ । केही वर्षपहिले मात्र उत्तरी गोलार्धमा पाइने सैगा सिंहका लागि हजारौंको संख्यामा मारिएका थिए । वन्यजन्तुको तस्करी जमिनमा मात्र सीमित नभई समुद्र अर्थात् पानीमा समेत हुने गरेको छ ।
विश्वका विभिन्न समुद्रबाट वार्षिक लाखौं टन माछा अवैधरुपमा मारेर विश्व बजारमा पु¥याइन्छ, जसले गर्दा कैयौं जलचर लोपोन्मुख अवस्थामा पुगेको बताइन्छ । नेपालले वन्यजन्तुको चोरी सिकारी नियन्त्रणमा पछिल्लो समय गैंडा संरक्षणमा उल्लेखनीय सफलताका साथ शून्य अवैध सिकार वर्ष मनाएको भए तापनि यसको दीर्घकालीन सुरक्षाको ग्यारेन्टी गर्न कैयौं चुनौतीहरु रहेका छन् ।
बर्सेनि बरामद हुने दर्जनौं बाघ र चितुवाका छाला र हड्डी, विभिन्न प्रजातिका खपटा, कस्तुरीको बिना, भालुको पित्तलगायतका आखेटोपहारका कारण नेपालमा वन्यजन्तुको चोरी सिकारी प्रचूर मात्रामा रहेको भन्न सकिने अवस्था छ ।
वन्यजन्तुको सिकार गर्ने अपराधीहरुले जंगललाई अन्य किसिमले समेत क्षति गर्ने गर्दछन् । पछिल्लो समयमा विभिन्न जिल्लामा यत्रतत्र फैलिएको वन डढेलोमा पनि यस्ता अपराधीहरुको हात रहेको कुरा नकार्न सकिँदैन । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा पर्ने र सोसँग जोडिएका मध्यवर्ती क्षेत्रमा पर्ने ठाउँहरुमा चोरी सिकारी बढी हुने गर्दछ । वन्यजन्तुको अवैध सिकार रोक्न समुदाय आफैं सक्रिय हुनुपर्दछ ।
चोरी सिकारीको वास्तविक पहिचान समुदायले समयमै गर्न सक्दछ र सोको गोप्य सूचना सम्बन्धित निकायहरु– जिल्ला वन कार्यालय, प्रहरी वा प्रशासनलाई दिई सहयोग गर्ने हो भने त्यस्ता सिकारीलाई र तिनीहरुले प्रयोग गर्ने वन्दुकलगायतका हातहतियार कब्जामा लिई अवैध चोरी सिकारी कार्य नियन्त्रण गर्न सकिन्छ ।
नजिकको समुदाय सचेत र सक्रिय हुने हो भने वन्यजन्तुको सिकार शून्यमा झार्न सकिन्छ । आजैका दिनबाट हाम्रो वन सम्पदा (वन र वन्यजन्तु) संरक्षणमा हामी दृढताका साथ जुटौं । यसो गर्न सकेमा मात्र हाम्रो वातावरण, हाम्रो विश्वको सुरक्षा गर्न सक्छौं । अनि मात्र हामी र हाम्रा भावी पुस्ता सुरक्षित रहनेछौं ।
– सम्झना उप्रेती, रसुवा ।

 

प्रतिक्रिया दिनुहोस्