दार्चुलामा सशस्त्रको बीओपी


किरन धामी, दार्चुला

भारत र चीनसँगको सीमा रक्षाका लागि दार्चुला जिल्लामा सशस्त्र प्रहरी बल नेपालको एक गण र चारवटा बीओपी स्थापना हुने भएको छ ।

गत असार २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिमका दुई जिल्लासहित नेपालका अन्य ६ जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापना गर्ने निर्णय गरेअनुसार जिल्लामा गण स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपालले पाएको जिम्मेवारीमध्ये सीमा सुरक्षा, सीमा अपराध न्यूनीकरण, ओसार–पसार, मावन बेच–विखन, तस्करीलगायतका गतिविधिलाई न्यूनीकरण गर्न जिल्लामा गण स्थापना हुन लागेको उहाँले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको दार्चुला र कैलाली जिल्लामा सशस्त्र प्रहरी बलको नयाँ गण स्थापनाका लागि विभागबाट स्वीकृति प्राप्त भएको गुल्मपति विष्टले जानकारी दिनुभयो ।

खलंगामा हाल रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म व्यास गाउँपालिका–१ छाङ्गरु जाने तथा सदरमुकाम खलंगामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर स्थापना हुने उहाँको भनाइ छ । गण स्थापनासँगै जिल्लाको महाकाली नगरपालिका–९ दत्तु र व्यास गाउँपालिका–१ तिंकर, मल्लो कौवा र वडा नम्बर ४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बीओपी स्थापना हुने भएको होे ।

भारतसँग दार्चुला जिल्लाको १ सय २५ किलोमिटर सिमा जोडिएको छ भने चीनसँग २० किलोमिटर सीमा जोडिएको छ । जिल्लामा गण स्थापना भएसँग सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक, १४ जना सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी कर्मचारी गरी ६ सय २१ जना बस्ने गुल्मपति विष्टले बताउनुभयो ।