बाढी–पहिरोले गरेको क्षतिको विवरण सार्वजनिक


नेपाल समाचारपत्र, जाजरकोट

अविरल वर्षाका कारण बारेकोट गाउँपालिकामा गत असार २५ गते आएको बाढी–पहिरोबाट भएको क्षतिको विवरण स्थानीय सरकारले सार्वजनिक गरेको छ । बाढी–पहिरो प्रभावितलाई राहत वितरणका लागि विपद् व्यवस्थापन समितिको बैठक बसी क्षतिको विवरण सार्वजनिक गरिएको हो ।

स्थानीय सरकार र प्रदेश सरकारको अनुगमन रिपोर्टअनुसार बारेकोटको वाढी–पहिरोबाट ६ हजार ५ सय ७ घर–परिवार विस्थापित, १२ सय २ घर जोखिममा रहेको, ३५ करोडदेखि ३६ करोड अनुमानित क्षतिभएको, ५४ वटा घर पूर्णरूपमा क्षति भएको, ४ सय ७७ घर उच्च जोखिममा रहेको, १ सय ९ घर–परिवार विद्यालयमा बसेको २८ घर–परिवार आफन्तसँग आश्रित भई बसेको र १४ जनाको बाढी–पहिरोका कारण मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनु भयो ।

विपद् व्यवस्थापन समितिले गत असार २५ गते पहिरोमा परी ज्यान गुमाएका आफन्तलाई प्रतिमृतक २५ हजार राहत दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यस्तै पहिरोले बस्न नमिल्ने गरि पूर्णरूपमा क्षति भएका घर निर्माणका लागि प्रतिघर ५० हजार आंशिक क्षति भएका मर्मत गरेर वस्ने अवस्थाका घरलाई प्रतिघर ३० हजार राहत दिने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताउनुभयो ।