संसद् तताउँदै ‘ज्यानमारा भीर’

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

शब्द, कति कर्णप्रिय लाग्छ
मधुर आवाजमा सम्बोधन गरौं झैं लाग्छ
परेवाभीर
मेरो शान्तिको प्रतीक परेवाको बासस्थान भएकोले ।

कल्पनाको सागरमा डुब्न थाल्छ नि जब मान्छे
सुन्दर प्राकृतिक छटाले भरिपूर्ण संसार होला झैं लाग्छ
तिम्रो कृत्रिम आधुनिक शहरबाट
प्रकृतिका कठिनाइसँग जुधिरहेका
भुईंमान्छेको पीडा अलग्याएर,
बाजहरुका सन्तानका निम्ति
म प्राकृतिक सुन्दरता जोगाइरहेका
डलरापेक्षी देशको
एउटा बबुरो मान्छेहरुको भीडमा
म पनि पीडा भरेर बाँचिरहेछु ।

यो कविता हो बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान (प्रदीप) को । जसले यही भीरबारेको मुद्दाका कारण मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा मागिएको विषय आफ्नो नरहेको स्पष्ट पार्नुभएको छ ।

आफ्नो प्रमुख विषय परेवाभीर सडक निर्माणको कुरा रहेको भन्दै उक्त विषयलाई गौण राखेर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गर्ने वा राजीनामा माग्ने विषय हुँदै नभएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो–बुधबार मुख्यमन्त्रीले परेवाभीरको बाटो नबन्ने बताउनुभएको रहेछ । मैले त्यसबारे केही प्रतिक्रिया दिएको हुँ ।

‘तपाइँको प्रतिक्रिया त प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्मको रहेछ नि,’ भन्ने प्रश्नमा सांसद् ग्लानले भन्नुभयो–कुरो त्यसो होइन, म एक्लैले चाहेर वा बोलेर हुने विषय पनि होइन । यो समग्र पार्टीको विषय हो । पार्टी पनि केन्द्रीय नेतृत्वको विषय हो । यस्तै पाराले अघि बढ्ने हो भने जनताले मुख्यमन्त्रीको राजीनामा समेत माग्न थाल्नेछन् भन्ने मेरो आशय हो ।

मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिका वडा–४ मा पर्ने परेवाभीर खण्डमा सडक निर्माणका लागि पहल गर्दै आउनुभएका सांसद् ग्लानले परेवाभीरबाट लडेर मान्छे मरे हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा ल्याएर दाहसंस्कार गर्ने धम्की संसद्मै दिनुभएको थियो । त्यसपछि मुख्यमन्त्रीसँग उहाँको सम्बन्ध चिसिएको छ ।

‘करिब ५ सय मिटर रहेको उक्त चट्टानी भीरको बाटो हातले समाउँदै वर्षामा नुनतेल र बिरामी बोकेर लैजानुपर्ने बाध्यता छ,’ सांसद् ग्लानकै भाषामा उक्त ‘ज्यानमारा भीर’ को ‘बाटो’ हुँदै वर्षको करिब ४ महिना काँकडा, राक्सिराङ, भार्ता र डाँडाखर्कका कम्तिमा १० हजार मानिस आवतजावत गर्नुपर्ने बाध्यतामा छन् ।

वर्षामा खोलाको बाटो अवरुद्ध भएपछि प्राकृतिक भीरका चट्टान समातेर ज्यान जोखिममा पारेर हिँड्नुको बिकल्प छैन । ग्लानका अनुसार उक्त बाटोका अंशहरु धादिङतिर बाटो बनिसकेको छ भने नुवाकोटमा त गाडी नै गुडिसकेको छ । मकवानपुर खण्डमा भने ट्रयाक नै खुलेको छैन ।

उक्त कार्यका लागि प्रदेशका मन्त्रीहरु र सांसद्हरुलाई भीरमुनि लगेर अबस्थाबारे स्थलगत जानकारी गराउँदा पनि न बजेट न त नीति तथा कार्यक्रममा समेटिएको भन्दै सांसद् ग्लानले आक्रोश पोख्नुभएको हो ।

राक्सिराङ गाउँपालिकाले पनि परेवाभीर सडकखण्ड निर्माणका लागि जोड दिँदै आएको छ । हाल प्रदेश सरकारले मनहरी–आदमघाट खण्डमा भनेर २ करोड बजेट बिनियोजन गरेको छ । तर, उक्त बजेट परेवाभीर खण्डमा खर्च हुन्छ वा हुँदैन भन्ने अनिश्चित भइरहँदा मुख्यमन्त्रीले परेवाभीरमा बाटो नबन्ने सार्वजनिकरुपमै अभिव्यक्ति दिएपछि यतिखेर राक्सिराङ, कैलाश क्षेत्रका बासिन्दा आक्रोशित छन् ।

सांसद् ग्लान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित जनप्रतिनिधिहरु मनहरीबाट आदमघाट जोड्ने ५२ किलोमिटर मुल सडक निर्माण हुनुपर्ने र उक्त खण्ड परेवाभीरबाट जानुपर्ने अडानमा हुनुहुन्छ ।

राक्सिराङ गाउँबाट मनहरी बजार आउँदै गर्दा मनहरी खोलाले बगाएर राक्सिराङ गाउँपालिका वडा नम्बर–४, पञ्जनी निवासी ४५ वर्षीय प्रेमबहादुर मोक्तानको केही समयअघि मृत्यु भएको थियो । उहाँलाई परेवाभीरमुनिको खोला तर्दै गर्दा मनहरी खोलाले बगाएको थियो ।
मोक्तान त एक प्रतिनिधिमात्र हुनुहुन्छ । परेवाभीरमा सडक नहुँदा भीर र खोलाबाट यात्रा गर्नुपर्दा वर्षेनी कम्तिमा ३ जनाको मृत्यु हुँदै आएको छ ।

मकवानपुरको दुर्गम राक्सिराङ–४ र ९ नम्बर वडा तथा कैलाश गाउँपालिकाको वडा नम्बर–१, २, ७, ८ का बासिन्दा त्यही बाटो भएर र दैनिक उपभोग्य सामग्री खरिद तथा अन्य प्रशासनिक कामका लागि परेवाभीरमा ज्यानको बाजी लगाएर राक्सिराङ गाउँपालिका केन्द्र चैनपुर तथा मनहरी बजार पुग्नुपर्ने बाध्यता छ ।

राक्सिराङ अध्यक्ष मल्लका अनुसार परेवाभीरका कारण एक दशकमा १२ बढी स्थानीयको ज्यान गइसकेको छ । मनहरी खोलामा पर्ने परेवाभीर स्थानीयका लागि हैरानको विषय बनेको छ ।