सुनको गहना बेचेर विदेश पठाएँ, त्यसपछि श्रीमानले वास्ता गर्नुभएन


भगवती तिमल्सिना, बनेपा

आफू जलेर पनि सन्तानलाई शीतलता प्रदान गर्ने आमा, आफ्ना कलिला सन्तानको सहरामा बाँच्नुपर्दाको पीडा असैह्य हुन्छ । त्यसमा पनि गरिबीको बोझ, अनि सुख–दुःखका साथी श्रीमान् नै पराई हुनु, यो भन्दा ठूलो व्यथा एउटी नारीका लागि अरू के हुन सक्छ र ? ३४ वर्षको ऊर्जाशील उमेरमा ओछ्यान परेकी यी महिलालाई श्रीमानले मात्र हैन नियतिले पनि खेलबाड गरेझैं लाग्छ ।

तत्काली रामेछाप दुरागाउँ गाविस निवासी लक्ष्मी कार्की १२ वर्षअघि रुखबाट लडेर मेरुदण्डमा ठूलो चोट पुगेसँगै उनका सपना र योजना चकनाचुर हुन पुग्यो । रुखबाट लडेपछि कम्मरमुनिको भाग पूरै नचल्ने अवस्थामा छ । लडेपछि जन्मदिने बाबुले बनेपास्थित शिर मेमोरियल अस्पतालमा ल्याई उपचार गराउनुभयो ।

‘बुबासँग पैसा थिएन । गाउँमा जानुभयो, दाजुभाइहरूसँग हार–गुहार गर्नुभयो । कसैसँग पैसा नभएपछि एउटा खेत बेचेर मेरो मेरुदण्डको अप्रेसन गराउनुभएको थियो । त्यसपछि म ह्विल चेयरमा बसेर हिँड्न सक्ने भएँ । विस्तारै डाक्टरहरूको सल्लाहअनुसार नै बैसाखीको सहायताले बाहिर–भित्र गर्न थालें’, लक्ष्मी भन्नुहुन्छ– ‘मेरा दुई सन्तान (एक छोरी र एक छोरा) जन्मिसकेका थिए । श्रीमान् विदेश जान्छु भन्नुभयो । बालबच्चाको भविष्य राम्रो होला भनेर सुनको गहना बेचेर विदेश पठाएँ । तर, श्रीमानले त्यसपछि वास्ता गर्नुभएन । अर्की केटी लिएर सम्पर्कविहीन हुनुभयो ।’

‘छोराछोरीका साथ उनीहरूको लालन–पालन, शिक्षा–दीक्षा दिने जिम्मेवारी काँधमा बोकेर बैसाखीको सहारामा बनेपामा कोठा भाडामा लिएर बस्न थालें । कोठाको भाडा, बच्चाहरुको स्कुल फी, लालनपालन, आफ्नो औषधि उपचारको ठूलो भारीले मलाई थिचेको थियो’, उहाँको कथन छ– ‘सकी–नसकी बनेपाको सान फर्निचरमा काम गर्न थालें । दिन यसरी नै बित्दै थियो । विगत ५ महिनादेखि उठ्न नसक्ने गरी थला परेको छु । दिसा पिसाब आएको पनि थाहा हुन्न । ’

खुट्टामा ब्यान्डेज लगाएर उत्तानो परेर सुतेको शरीर ओल्टे–कोल्टे फर्काउन नसक्ने अवस्थामा खाटमा लडिरहेको छ । आँखाबाट अस्रुधारा बगिरहेको छ । लक्ष्मीको यो अवस्था देख्दा जो–कोहीको मन कुडिन्छ । लक्ष्मीका अनुसार उहाँका श्रीमान्ले ५ वर्षअघि अर्की श्रीमती लिएर सम्पर्कविहीन भएपछि अदालतको सहारा मागेको एक वर्षपछि अदालतले श्रीमान् नभेटे पनि न्याय दियो । तर, ग्रामीण भेगको पाखामा जीवन जिउन सक्ने अवस्था नभएपछि उहाँ बनेपा झर्नुभयो ।

लक्ष्मीले शरीर नचलेपछि शिर मेमोरियल अस्पतालमा पुनः परीक्षण गराउन पुग्नुभयो । अस्पतालले उपचार महँगो हुने बताएपछि जिउँदै मरेसरह भएर ओछ्यानमा लड्नुको विकल्प केही नभएको उहाँ बताउनुहुन्छ । ‘यता लकडाउन पनि त्यति नै बेला भयो । बालबालिकाले कति दिन जाउलो मात्र खानुप¥यो । कतिपटक त मैले बच्चाहरूको यो विजोग देखेर मलाई बिष ल्याएर खान देउ पनि भनें ।’ –लक्ष्मीले यसो भनिरहँदा उहाँको गला अवरुद्ध भइसकेका थिए ।

पछिल्लो समय ललितपुर इमाडोलका एक दाताले ५ हजार रुपियाँ सहयोग गरेपछि राशनपानी किन्न सकेको र अन्य दाताहरूले पनि सहयोग गर्ने इच्छा देखाउनुहुँदा पुनः उपचार गरी बालबच्चाका लागि बाँच्ने आशा जागेको उहाँ बाताउनुहुन्छ ।

‘एक समाजसेवीले सहयोगका लागि अनुरोध गरेपछि मैले गएर हेरें । लक्ष्मीको वास्तमै दयनीय अवस्थामा देखेपछि वडाध्यक्षको रोहवरमा लक्ष्मी कार्की सहयोग तथा समन्वय समिति बनाएर नेपाल बैंक बनेपा शाखामा चल्ती खाता नं ०१५००१०६८७१६५१०००००१ खोलिएको छ’, नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका पूर्वसभापति रघुवर चौ प्रधान भन्नुहुन्छ– ‘६ महिनाको लागि खाद्यान्न पनि जोहो भइसकेको छ । लक्ष्मीको स्वास्थ्य समस्या आजको भोलि नै निको हुने नभई दीर्घकालसम्म लम्बिने भएकाले बिरामी र उनका बालबालिकाका लागि कम्तीमा डेढ वर्षसम्म खाद्यान्नको समस्या नहोस् भन्ने हेतुले नै खाता खोली खातामा पैसा जम्मा गर्न शुरू गरेका छौं ।’

बच्चाहरू पढ्दै गरेको विद्यालयका प्रधानाध्यापक मंगलबार लक्ष्मीको कोठामै पुगी बच्चाको पढाइको विषयमा चिन्ता नलिन आश्वासन दिनुभएको लक्ष्मीले बताउनुभयो ।