प्रचण्डले ओली रोज्ने कि नेपाल ?


मधुसूदन रायमाझी, काठमाडौं

देश कोरोना भाइरसको त्रासमा बाँचेको छ । अविरल वर्षासँग आएको बाढीपहिरोको कारण जनधनको क्षति हुने क्रम शुरु भएको छ । भारतले अतिक्रमण गरेको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नयाँ नक्सा जारी गरेपछि भारतले वार्तामार्फत समस्या समाधान नगर्ने अडान राखेको छ ।

चार महिना लामो लकडाउनको कारण देशको आर्थिक अवस्था नाजुक अवस्थामा पुगेको छ । देश कोरोनाको महामारीसँग लडिरहेको बेला सत्ताको बागडोर सम्मालेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको पदीय झगडाले नागरिकमा वितृष्णा जन्माएको छ । राजनीतिक अस्थितरताकै कारण सरकारलाई स्थायित्व दिन गत निर्वाचनमा नेकपालाई नागरिकले झन्डै दुई तिहाइ बहुमत दिए । तर जनमत र जनभावनाविपरीत नेकपाभित्र सुरु भएको पदको भाडवण्डाले राष्ट्रिय मुद्दालाई नै ओझेलमा पारेको छ ।

मूलतः नेकपाभित्र विचार र सिद्धान्तको विवाद देखिँदैन । विगत एक महिनादेखि पदलाई प्रतिष्ठाको विषय बनाउँदै नेकपाहरु दिनहुँ दौडधुप गर्दै आएका छन् । पार्टीको स्थायी समिति बैठकमा एजेन्डा नै नभएको प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि एक महिनायता नेकपाभित्र दिनहुँ भेला छलफल, बैठक र वार्ता भए पनि समस्याको समाधान हुन सकेको छैन ।

पार्टीभित्रको शक्ति संघर्षका कारण राष्ट्रिय मुद्दा छोडेर नेकपाका नेताहरु आन्तरिक विवादमा रुमलिएका छन् । दैनिकजसो प्रधानमन्त्री निवास बालुवाटार, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार र वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा भेला र छलफल हुँदै आएको छ । राजीनामा प्रकरणपछि उत्पन्न विवाद मिलाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच बारम्बार वार्ता भए पनि ठोस सहमति जुटाउन सकेको छैन । पार्टीमा दोस्रा तहका नेताहरुको दौडधुप पनि उत्तिकै छ ।

बहुमतको आधारमा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने दबाब दिएपछि चर्किएको विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले आगामी मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव राख्नुभएको छ । जुन प्रस्तावले नेकपाको जारी विवाद सुल्झिने संकेत गरेको छ ।

यद्यपि ठोस सहमति नभएको बताइएको छ । दुवै पद नछोड्न तर प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिन तयार भए पनि ओली र प्रचण्डबीच सहमति भएको थियो । विवादको समाधानका लागि ओली प्रचण्डकै सहमतिमा ओलीले मंसिरमा महाधिवेशन गरेर अध्यक्ष पद छोड्न तयार रहेको प्रस्ताव राख्नुभएको बताइएको छ । ओलीको प्रस्तावमा प्रचण्ड सकारात्मक भए पनि वरिष्ठ नेता नेपालले ओली–प्रचण्डबीच भएको भनिएको सहमतिप्रति असहमति जनाएपछि गाँठो अझै फुक्न सकेको छैन ।

झन्डै विभाजनको संघारमा पुगेको पार्टी विभाजनको खतरा टरे पनि पदीय झगडाबाट शुरु भएको विवादको समाधानचाहिँ हुन सकेको छैन । ओली–प्रचण्डबीच अब सहमति कायम गरेर अगाडि बढ्न ठूलो समस्या नरहे पनि वरिष्ठ नेता नेपालले निर्णय प्रक्रियामा आफ्नो भूमिका खोजेपछि कुरा मिल्न सकिरहेको छैन ।

आगामी महाधिवेशनमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी नदिएको अवस्थामा स्वाभाविक रुपमा अध्यक्षमा प्रचण्ड र नेपाल नै प्रतिस्पर्धी हुन् । पार्टी एकतापूर्व र एकता भएपछि ओलीले सहमतिको पालना नगरेको भन्दै रुष्ट बनेका प्रचण्डले नेपाल पक्षसँग मिलेर समीकरण बनाएर ओलीलाई एक पद छोड्न दबाब दिनुभएको छ । तर अहिले नेपाललाई छोडेर ओलीसँग सहमति गर्दा समीकरण टुट्ने संकटमा प्रचण्ड पर्नुभएको छ ।

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पार्टीभित्र विचार र सिद्धान्तको विवाद नभएकाले पदीय विवाद दुवै अध्यक्षले समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अहिले समाजवादको बाटो तय गर्नका लागि पार्टीमा बहस हुनुपर्ने हो, तर विषय एकातिर विवाद अर्कोतिर भइरहेको छ ।’

‘कोरानाले पारेको असर भारतलेसँग कूटनीतिक वार्ता गरेर गुमेको भूमि फिर्ता ल्याउने विषय, बाढीपहिरोको असरको विषयमा पार्टीभित्र छलफल हुनुपर्ने भए पनि पदीय झगडाले जनतामा सकारात्मक सन्देश गइरहेको छैन’ –पौडेलले भन्नुभयो ।

पार्टीमा ओली समूह, प्रचण्ड समूह र नेपाल समूह तीन गुट सक्रिय छ । अन्य उपगुट रहे पनि एउटा समूह जता मिल्यो उतैतिर दुई तिहाइ बहुमत पुग्ने अवस्थामा छ । ओलीले प्रचण्डलाई पार्टी एकता दुवै जनाको निर्णयले सम्भव भएकाले मिलेरै अगाडि बढ्न आग्रह गर्दै कार्यकारी अध्यक्षको जिम्मेवारी दिन तयार रहेको बताइसक्नुभएको छ ।

कार्यकारी अध्यक्ष विषयमा सहमति जुटेकै कारण ओली र प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीलत निवासमा संयुक्त रुपमा भेटवार्ता गर्नुभएको थियो । यसअघि पार्टीभित्र पदीय झगडा चर्किदा ओली प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने बेलामा पनि शीतल निवासमा ओली–प्रचण्ड संयुक्त रुपमा जानुभएको थियो ।

पूर्वएमाले समूह भएर पनि पछिल्लो समय आफ्नो विरुद्धमा लागेको भन्दै प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग सहमति गर्नुभन्दा प्रचण्डसँग मिलेर काम गर्ने निष्कर्ष निकाल्नुभएको छ । पार्टी एकताको क्रममा प्रदेश कमिटीको कार्यविभाजनमा ओली निकटका व्यक्तिहरुलाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेपालले ओलीसँग सहमति जनाएपछि ओली–नेपालबीचको सम्बन्ध सुध्रिन सकेको छैन ।

प्रचण्डले राजीनामा नै मागेपछि ओलीले पूर्वएमालेका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमको साथ खोजे पनि नपाएपछि अन्नतः प्रचण्डसँग मिलेर आगामी महाधिवेशनमा देखाइदिने रणनीति लिएको बताइएको छ ।

ओलीले प्रचण्डलाई विश्वासमा लिएर अगाडि बढ्ने रणनीति लिएपछि यता नेपाल पक्षले पनि प्रचण्डलाई दीर्घकालीन रुपमा नै सहकार्य गरेर जानुपर्ने प्रस्ताव राखेको छ । जसको कारण प्रचण्ड नैतिक संकटमा परेका छन् । अब प्रचण्डले ओली रोज्ने कि नेपाल ?