लकडाउन अवधिभर बुटवलमा ६ हजार युनिट बढी रगत खपत


यमलाल भुसाल,बुटवल।

कोभिड १९ का कारण गरिएो लक डाउन अवधिमा रक्तसंचार केन्द्र बुटवलबाट ५ हजार १ सय ७९ युनिट रगत संकलन भएको छ भने बिरामीहरुले ६ हजार ३६ युनिट रगत लगेका छन । बिरामीहरुले कम्पोनेन्ट, प्याक सेल र होल ब्लड गरि ६ हजार ३६ युनिट रगत लगेका हुन ।

यसैबीच सौन्दर्य क्षेत्रमा दक्ष कामदार उत्पादन गराउदै आएको रुपन्देहीको बि योग एकेडेमीले बुधबार आयोजना गरेको रक्तदानमा ४० युनिट रगत सकलन भएको संयोजक गरिमा आचार्य क्षेत्रीले बताउनु भयो । कोरोना भाईरसका कारण चार महिना लामो लकडाउन चलिरहदा यहाँको मागलाई सामाजिक संघसंस्थाहरुले आकस्मिक रक्तदान मार्फत पुरा गरिरहेका छन ।

सामाजिक उत्तरदायित्वमा अग्रसर हुदै आएको एकेडेमीले नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । केन्द्रका ल्याब इन्चार्ज तथा सदस्य सचिव जोग बहादुर गुरुङले क्यान्सर, थाल्सेमिया, डायलोसिस, मेजर अपरेशन, एनिमिया, सिकलसेल, प्रसुति लगायतका विरामीका लागि बढी रगतको आवश्यक पर्ने गरेको बताउनु भयो ।

फोरम फर हल्थ एण्ड टेक्निकल साइन्सेस प्रदेश ५ का संयोजक प्रकाश राना, एकेडेमीका संचालक आरती रानाले केन्द्रका वरिष्ठ प्राविधिक निरंजन राजभण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरिएको हो ।
एकेडेमीमा १ सय ५० जना सौन्दर्य सम्बन्धि तालिम लिदै आएका विद्यार्थी रहेका छन ।