अस्पतालले सेवा नदिँदा असुरक्षित गर्भपतन !


भगवती तिमल्सिना, काठमाडौं

ठूला अस्पतालले सेवा नदिँदा असुरक्षित गर्भपतन तथा अनिच्छित गर्भधारण गर्नेको संख्या बढेको छ । कोरोना संक्रमणका बेलामा सरकारले जारी गरेको निर्देशिका कागजमै सीमित हुँदा यस्तो समस्या निम्तिएको हो ।
नेपाल परिवार नियोजन संघका एक्टिङ प्रोग्राम डाइरेक्टर परमिज थापा लकडाउनका समयमा सरकारी निकायले सेवा दिनै नसकेको बताउनुहुन्छ । उहाँले सार्वजनिक सवारीसाधन नचल्दा परिवार नियोजनको क्लिनिकसम्म जति पुग्न सके त्यो पनि निकै कठिनाइसँग आएको बताउनुभयो ।

कोभिड–१९ मा लकडाउन गरेसँगै काम गर्ने भनेर नेपाल सरकारले आरएनएन एसीएच गाइड लाइन निकाल्यो । त्यसमा होमबेस मेडिकल एबोर्सन, टेलिमेडिसिन नीतिमा ल्याएको छ । अहिले लकडाउन खुकुलो भएपछि सेवाग्राहीको संख्या बढेको उहाँको भनाइ छ । ३ महिना सेवा असहज हुँदा ठूलो चुनौती थपिएको छ । शुरुका दिनमा सेवा लिन चाहनेलाई सार्वजनिक सवारीसाधन नचल्नु र कोरोना लागेपछि मरिन्छ भन्ने डरले पनि सेवा केन्द्रसम्म पुग्न सकेनन् ।

यसले गर्दा महिला स्वास्थ्यमा ठूलो चुनौती थपिएको छ । कतिपय फार्मेसीमा गएर औषधि खाएर जटिल अवस्थामा पुगेर आउने र विशेषज्ञ सेवा लिनुपर्नेहरुको संख्या पछिल्लो समय बढेको छ । औषधि खाएर जटिल अवस्थामा पुगेकालाई सर्जिकल मेथडबाट कम्प्लिट गर्नुपर्छ । १२ हप्ता नाघेकाको हकमा नेपाल सरकारले तोकेका २४ वटा अस्पतालमा विशेषज्ञहरुले मात्र सेवा दिनुपर्छ ।

सुरक्षित गर्भपतन सेवालाई व्यवस्थित बनाउन र भोलिका दिनमा थप जटिलता आउन नदिनका लागि नेपाल सरकारले तोकेका अस्पतालमा पनि सेवा सुचारु राख्नुपर्छ । कुनै पनि महिलाले सरकारले दिने सेवा नपाएर जटिल अवस्थामा पुग्न नपरोस् र होमबेस सेवा पनि सरकारले शुरु गर्नुपर्छ ।

नेपाल परिवार नियोजन संघले कोरोना भाइरसको शुरुको अवस्थादेखि नैे आफ्ना सेवालाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार निरन्तरता दिँदै आइरहेको बताएको छ । महामारीको बन्दाबन्दीमा विभिन्न निकायबाट उपलब्ध हुने सेवाका साथ परिवार नियोजन, सुरक्षित गर्भपतन तथा अन्य प्रजनन स्वास्थ्य सेवाहरु ठप्प हुँदा नेपाल परिवार नियोजन संघले भने बन्दाबन्दीको शुरुको एक हप्ताभित्रै आफ्ना सेवाहरु सुचारु गरी जनतासमक्ष पुग्न सफल भएको उहाँले बताउनुभयो ।

संघले बन्दाबन्दीको शुरुको अवस्थादेखि हालसम्म झण्डै २ हजार जनालाई सेवा उपलब्ध गराएको छ । नेपाल परिवार नियोजन संघका उपत्यका शाखा प्रमुख शरद अर्यालले बन्दाबन्दीको समयमा सेवाग्राही तोकिएको ठाउँमा पुग्न नसक्दा टेलिमेडिसिनका माध्यमबाट घरमै सेवा दिएको बताउनुभयो । कतिपयलाई सवारीसाधनको अभावमा सेवा लिन आउन नसक्दा घरमै गाडी पठाएर सेवा दिएको उहाँको भनाइ थियो । अरु समयमा भन्दा यो समयमा दैनिक ४० जनाको हाराहारीमा सेवा प्रवाह गरेको उहाँले बताउनुभयो ।

सुरक्षित गर्भपतन सेवामा ठूलो हिंसा ओगटेको आईपास नेपालका डा. दीप डंगोल पछिल्लो समय सेवा सुरु भए पनि सबै ठाउँमा पुग्न नसकेको, यकिन तथ्यांक भन्न सकिने अवस्था नभएको, हेल्थपोस्ट तहमा गरिने सेवा पनि गोपनीयताका कारण अन्य ठाउँमा जान खोजेको बताउनुहुन्छ ।

ओरेक नेपालमा यस बन्दाबन्दीको समयमा १ सय ९ वटा बलात्कारका घटना अभिलेखीकरण भएका छन् । जसमा ८ वटा सामूहिक बलात्कार र ९ वटा वैवाहिक बलात्कारसम्बन्धी घटनाहरु रहेका छन् । महिला र कानुन मञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठ बन्दाबन्दीको समयमा सुरक्षित गर्भपतन सेवासम्बन्धी निर्देशिका जारी गरेको बताउनुहुन्छ । उहाँ आधारभूत स्वास्थ्य सेवाभित्र प्रजनन स्वास्थ्य सेवा पनि पर्ने बताउनुहुन्छ ।

निर्देशिकामा यौन, प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवा प्रदान गर्न अत्यावश्यक उपकरण, व्यक्तिगत सुरक्षाका सामग्रीहरु, औषधि तथा अन्य सरसामानको उपलब्धता सुनिश्चित गर्ने जनाएको छ । स्वास्थ्य सेवा लिनका लागि गर्भवती महिला, अन्य ग्राहक तथा नवजात शिशुहरुलाई सुरक्षित आवागमनको सुनिश्चितता गर्ने निर्देशन भए पनि व्यावहारिक रुपमा प्रयोग भने हुन सकेको पाइएको छैन ।

बन्दाबन्दीको समयमा सुरक्षित गर्भपतन त टाढाको कुरा भयो । कतिपय अस्पतालहरुमा सुत्केरी सेवालाई पनि ढिलाइ गरेको अवस्था छ । स्वास्थ्य मन्त्रालयले सेवा दिनु मात्र भनेको छ सेवा नदिनेलाई कारबाही पनि गरेको छैन ।