लकडाउनमा खचाखच यात्रु


ताप्लेजुङ, (नेस)

ताप्लेजुङका ग्रामीण रुटमा चल्ने यातायातले लकडाउनको मौका छोपी गाडीमा खचाखच यात्रु राख्दै चर्को भाडा असुल्न थालेका छन् ।

५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताभन्दा आधामात्र यात्रु राख्न सरकारले भनेको छ । तर, ताप्लेजुङको सदरमुकामबाट छुट्ने अधिकांश सवारीचालकले गाडीको सिट क्षमताभन्दा धेरै यात्रु राखेर यात्रुसँग मनपरी शुल्क उठाउन थालेको यात्रु डम्बर ओख्रबुले बताउनुभयो ।

सानो गाडीमा सामाजिक दूरी कायम गर्न नसकिने र क्षमताअनुसार यात्रु राख्नुपर्ने बाध्यता रहेको चालक डिल्लीराम न्यौपाने बताउनुहुन्छ ।