घूससहित २ इन्जिनियर पक्राउ


बारा, (नेस)
जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब–इन्जिनियरसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घूस रकमसहित पक्राउ गरेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण तथा सिँचाइ डिभिजन कार्यालय बाराका सब इन्जिनियर गजेन्द्रप्रसाद जैसवाल र उनका सहयोगी चन्दन जैसवाललाई ८० हजार घूससहित आयोगको हेटौंडा कार्यालयको टोलीले आइतबार साँझ पक्राउ गरेको हो ।

सब–इन्जिनियर जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घूसस्वरूप ८० हजार रुपियाँ लिई भाग्न खोज्दा दुवै जना कलैया नगरपालिका–४ मा रहेको सब–इन्जिनियर जैसवालको घरबाट पक्राउ परेको आयोगले जनाएको छ ।

कलैया उपमहानगरपालिका–१५ मा रहेको पसाहा खोला नियन्त्रणका लागि जाली बोल्डर गर्न २० लाखको ठेक्कामा सब–इन्जिनियर जैसवालले ठेकदारसँग शेयर मागेको र ठेकदारले सो प्रस्ताव अस्वीकार गरेपछि ४ लाख रुपियाँ घूस मागेको र सो पनि दिन नसक्ने जवाफ दिएपछि २० लाखको योजनाको ९ लाख ९५ हजार रुपियाँ मूल्यांकन गरेर त्यसमा पनि १ लाख रुपियाँ घूस मागेर सेवाग्राहीलाई दुःख दिएको सेवाग्राहीले जनाएका छन् । अख्तियारले केही दिन अघिदेखि सब–इन्जिनियर जैयसवालमाथि निगरानी बढाएको थियो ।