समुदायमै कोरोना फैलिएको आशंका


नेपाल समाचारपत्र, बारा

बाराको देवताल गाउँपालिकामा सोमबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको संख्यामा कमी आएका बेला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । एउटै पालिकामा यति धेरै संक्रमित पाइएपछि जिल्लामा समुदायस्तरमै संक्रमण फैलिएको आशंका गरिएको छ ।

नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष चन्दन सिंहले आफ्नो मातहतका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गराउनुभएको हो । ७४ जनाको परीक्षण गर्दा ४६ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिनुभयो ।

संक्रमित हुनेमा ६ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य, कर्मचारी र स्वास्थ्यकर्मीहरू रहेको गाउँपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र ठाकुरले जानकारी दिनुभयो । उनीहरूमा कोरोनाको कुनै पनि लक्षण नदेखिएको ठाकुरले बताउनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।