कारागारका बन्दीले गृहमन्त्रीलाई गरे यस्ताे ‘बिन्ती’


नेपाल समाचारपत्र, हेटौंडा

बेला–बेलामा मारपिटका घटना भइरहने मकवानपुरको क्षेत्रीयस्तरको भीमफेदी कारागारमा विभिन्न मुद्दामा कैदमा रहेका ‘क’ ब्लकका ५ सय १४ जना पुरुष कैदीले गृहमन्त्रीसमक्ष ‘बिन्ती’ बिसाएका छन् ।
कारागारहरू सुधारगृह बन्न नसकेको गुनासो गर्दै उनीहरूले कारागार ‘यातनागृह’ भएको तीतो यथार्थ पोखेका छन् । भनेका छन्–केही महिनादेखि हामीले यस्तै महसुस गर्दै आएका छौं ।’

कोरोनाको प्रकोपबाट कारागार र यहाँका बन्दीले जीविकोपार्जन तथा समय सदुपयोग गर्ने माध्यमका रूपमा स्थापित कारखानाहरू पनि बन्द रहँदा पीडामा रहेका बन्दीसँग महिनावारिका रूपमा कारागारका अधिकृतले बारम्बार रकम माग्दै दबाब दिएको उनीहरूको दाबी छ ।

मागको अवज्ञा गर्दादेखि हालसम्म उनले विभिन्न बहानामा यहाँका श्रम गरी केही पैसा जोहो गर्ने कैदीको एकमात्र साधन कारखाना बन्द गराउने, उत्पादित सामग्री निकासीमा रोक लगाउने, घर–परिवारसँग फोनसेवा बन्द गराउने र घरपायक पर्ने कारागार भनी यहाँ बसेका कैदीलाई अन्यत्र सरुवा गर्ने धम्की देखाउँदै आएको उनीहरूको पत्रमा उल्लेख छ ।

‘हामी बन्दीजीवन बिताइरहेका सबैजना कुख्यात अपराधी नभएर केही परिस्थितिको शिकार भएका बन्दीसमेत छांै । हामी यी दुवै प्रकारका कैदीले राज्यको न्यायिक निकायले गरेको फैसला शिरोपर गरी भविष्यमा असल नागरिकको दायित्व निर्वाह गर्न तत्पर छौं । तर, कारागार पक्षको यस्तो व्यवहारले बन्दीको न्यायमाथिको विश्वास हराउँदै गएको छ ।’ –पत्रमा लेखिएको छ ।

कैदीले विभिन्न निकायमा आफ्नो हक–अधिकार संरक्षणको निम्ति गुहारे पनि सुनुवाइ नभएको भन्दै अन्ततः आवश्यक कारबाहीका निम्ति गृहमन्त्रीलाई ‘बिन्तीपत्र’ चढाइएको उनीहरूको भनाइ छ ।

उनीहरूले उक्त पत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौं, आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मती प्रदेश र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पनि पठाएका छन् ।