पहिरोमा बेपत्ता भएकाको खोजी गर्दै कुकुर


मिला दरै, तनहुँ

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा आएको पहिरोमा पुरिएर बेपत्ता भएका २० वर्षीय राजेश थापाको खोजी तथा उद्धारमा कुकुर परिचालन गरिएको छ । असार २८ र २९ गते आएको अविरल वर्षापछिको पहिरोमा परी हराएका थापा अझै बेपत्ता छन् ।

एक हप्तासम्म खोजी गर्दासमेत नभेटिएपछि बेपत्ता भएका राजेशको खोजी कार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । राजेशको खोजी कार्यका लागि कुकुरसहितको एक टोली घटनास्थलमा पुगे पनि लगातारको वर्षाले गर्दा खोजी कार्यमा कठिनाइ भएको तिमिल्सिनाले बताउनुभयो ।

डीएसपी तिमिल्सिनाको नेतृत्वमा एक टोली घटनास्थल गएको छ । पहिरोमा परी एकैघरका चार जनामध्ये तीन जनाको शव गत सोमबारै फेला परेको भए पनि राजेशलाई अझै फेला पार्न सकिएको छैन ।

बेपत्ता भएकाको खोजी कार्यका लागि व्यास नगरपालिका ५ चापाघाटस्थित कालीभञ्जन गण (ई) का सहसेनानी नेतृत्वमा सेना र नेपाल प्रहरी परिचालन गरिएको थियो । तर, पहिरो गएको दोस्रो दिनदेखि स्काभेटरको प्रयोग गरी स्थानीय, प्रहरी, सेनालगायतको टोलीले बेपत्ता भएकाको खोजी गर्दै आए पनि सोमबारसम्म फेला पार्न नसकिएको उहाँले बताउनुभयो ।

‘बेपत्ता भएका राजेशको खोजी कार्यका लागि निरन्तर लागिपरेका छौं, तर अहिलेसम्म उहाँलाई फेला पार्न नसक्दा दुःख लागेको छ, एक्साभेटर, मानिस मात्रै पत्ता लगाउन नसकेपछि तालिम प्राप्त कुकुरको प्रयोगबाट खोजी थालिएको हो ।’ –तिमिल्सिनाले भन्नुभयो ।

गत सोमबार पहिरोमा पुरिएर उहाँकी आमा ४० वर्षीया कमला थापा, दाजु २४ वर्षीय मनोज थापा र भाउजू २१ वर्षीया अञ्जना थापाको ज्यान गएको थियो । उहाँका बुबा ५० वर्षीय केशव थापा भने घाइते भएकाले पोखरामा उपचार हुनुहुन्छ । सोही दिन जिल्लामा पहिरोले पुरिएर ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा गरी ११ जनाको ज्यान गएको थियो भने तीन जना घाइते भएका थिए ।